धरान उपमहानगरपालिकाका उप – प्रमुख आइन्द्र बिक्रम बेघाले सचेत नागरिक नबेचिने र कहिले पनि बेची नमाग्ने बताएका छन । मानव बेचबिखन विरुद्ध दशौं राष्ट्रिय दिवसको अवसरमा आईतवार सामना नेपालले बेचबिखन विरुद्ध सशक्तीकरण, रोकथाम र सुरक्षा विषयमा चेतनामूलक छलफल कार्यक्रममा बोल्दै बेघाले यस्तो बताएका हुन । आम सचेत नागरिकले आफ्नो जिम्मेवारी आत्मनिर्णय गरेमा बेचिनु र बेच्ने काम नै नहुने बेघाको दावी थियो । धरानमा शहरी बिकासले धेरै चेतना अभिवृद्धि गरेपनी धरानपनी मानव बेचबिखनबाट अछुत नहरेको बेघाको भनाई छ ।
कार्यक्रमकी सभापती तथा सामना नेपालकी अध्यक्ष चेतना श्रेयङले ‘मानव तस्करी र मानव बेचबिखन फरक फरक विषय भएको बताइन । यस बिषयमा नेपाल सरकारसँग सरोकारवालाहरूको संवाद भइरहेको पनि श्रेयङले बताइन । अहिलेको अवस्थामा आर्थिक अवस्थाकै कारण फिल्डमा गएर सरोकारवालाहरूसँग कार्यक्रम गर्न चुनौती रहेको दुखेसो गरिन । मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न तिनै तहको सरकार गम्भीर नभएको र कार्यरत संस्थाहरूलाई उपेक्षा गरेको अध्यक्ष श्रेयङको आरोप छ । छलफलमा महिला सञ्जाल पूर्व अध्यक्ष शिला बज्राचार्य, धरान-३ का वडा सदस्य मिङमा भोटे, महिला सञ्जाल सहसचिव शकुन्तला त्रिखत्री लगायतले मानव बेचबिखनबाट महिलाहरू पीडित रहेको बताए । नेपालमा मानव बेचबिखन तथा ओसार पसार ऐन २०६४ र नियमावली २०६४ कात्तिक ६ गते बनेपनी कार्यन्वयन हुन नसकेको सहभागीहरुको भनाई थियो ।