धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरेका छन । बेघा धरानका बिभिन्न बिकास आयोजनाहरु लिएर बजेट सुनिस्चितताको माग गर्दै प्रधानमन्त्री सँग भेटघाट गर्न काठमाण्डौ पुगेका हुन । भेटका क्रममा धरानको विकास निर्माण योजनाहरूसँगै जीर्ण अवसथमा रहेको धरान – ८ को सभागृह र सोही प्राङ्गणमा बन्दै गरेको निर्माणधिन ‘नाटक घर’ निर्माणको लागि बजेट निकासाको लागि आग्रह गरेको बेघाको सचिवालयले जनाएकोछ ।
भेटघाटको क्रममा धरान हुँदै जाने कोशी राजमार्गको मापदण्ड, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन मार्फत संचालन गर्ने बारे, कुलुङ्ग जातीलाई जनजातिमा सूचिकृत गर्ने,धरानको विकास तथा पर्यटनको पूर्वाधारका रूपमा सडक विस्तार, स्तरोन्नतिका योजनाहरू, धरान ११ मंगलबारेदेखि विष्णुपादुका हुँदै सुर्यकुण्डसम्म पुग्ने सडक, सप्तकोसीबाट पानी ल्याएर खानेपानी व्यवस्थापनका लागि बजेट सुनिश्चितता गरिदिन पनि उपप्रमुख बेघाले प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गरेका छन्। धरानको बुढासुब्बा, पिण्डेश्वर, चिण्डेडाँडा, दानाबारी आदि क्षेत्रमा पर्यटन विकास लागि सडक पुर्वाधारको लागि बजेट व्यवस्थापन गरिदिन पनि उपप्रमुख बेघाले आग्रह गरेका छन्।प्रधानमन्त्री पत्नी सिता दाहालको मृत्यु पछी शोकमा रहेको परिवारलाई समवेदना दिन प्रधानमन्त्री निवास पुगेका बेघाले धरानको बिकासमा केन्द्र सरकारको महत्वपूर्ण भूमिका हुनुपर्ने माग समेत गरेका छन । बेघाले बिशेषगरी धरान सभागृहको मर्मत सम्भार र नाटक घर निर्माणको लागि यसापलीकै आर्थिक वर्ष २०८०/०८१ को बजेटमा रकम व्यवस्थापन गर्न आग्रह गरिएको बताए ।