यही कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र ‘पूर्ण बहादुर को सारंगी को टिजर रिलिज भएको छ । पछील्लो समय नेपाली चलचित्रहरुलाई विश्व बजारमा पुर्याइरहेको, सेवेन सिजको प्रस्तुती रहेको ‘पूर्ण बहादुरको सारंगी’ को टिजर सेवेन सिजकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । कुशे औशी बुवाको मुख हेर्ने अवसरमा सम्पूर्ण बुवाहरुलाई समर्पित गर्दै निर्माण टिमले आइतबार टिजर सार्वजनिक गरेको हो । टिजरमा चलचित्रका दुई मुख्य पात्रहरु विजय बराल र प्रकाश सपूतलाई प्रस्तुत गरिएको छ ।
रिलिज टिजरमा एक बुवा जस्ले सारंगी रेटेर आफ्नो छोरालाई ठुलो मान्छे, विद्वान बनाउन गरेको संघर्षलाई सारंगीको मिठो धुन जस्तै प्रस्तुत गरिएको छ । रिलिज ट्रेलरमा कलाकार प्रकाश सपुत आफु एस एल सी (हालको एसइइ) मा जिल्ला प्रथम भएको खबर बुवा बिजय बराल लाई सुनाएको खुशीको खबर अनी बुवा खुशीले भावबिभोर भएको क्षणलाई निर्देशक सरोज पौडेलले गज्जबले प्रस्तुत गरेकाछन । आफुले फाटेको भोटो लगाएर पनि छोरालाई विद्वान बनाउन लागिपरेका बुवाहरुको कथा पेश गर्ने ‘पूर्ण बहादुरको सारङ्गी’ यो बर्षको प्रतिक्षित चलचित्र बन्ने पक्का छ ।
विनोद पौडेल र प्रतीक सुवेदीले संयुक्त्त रुपमा निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रस्तुतकर्ता सेभेन सिस सिनेमा र बासुरी फिल्मस हुन । चलचित्रमा विजय बराल,प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने छ ।
सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण टिमले जानकारी दिएको छ । पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन । रामबाबु गुरुङको बाँसुरी फिल्मस्सँग यो सिनेमा प्रदर्शनका लागि सहकार्य गरेको सेभेन सिज इन्टरटेनमेन्टले यही चलचित्र मार्फत नेपालमा पनि चलचित्र बितरणको सुरुवात गर्दैछ ।