कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउनु भएको छ । उहाँले फेरी धरानको पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो ।शनिबार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नु हुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नु भयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्ने गरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नु पर्ने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘ ७०० दिनमा बन्नु पर्ने भवन पुरा हुन २१ सय दिन लाग्यो । अब यसरि विकास हुन्न आजबाटै सच्याउँने प्रतिबद्धता गर्नु पर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’
फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले धर्म जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको संवृद्धि र विकासको लागि लाग्न आग्रह गनुुभयो । धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उहाँले फेरी पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेको समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’
मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक श्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने प्रस्ट्याउनु भयो । खेलकुद र शिक्षाको केन्द्र समेत भएको भन्दै धरानमा विकास र संवृद्धिको ठुलो सम्भावना रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्याश गर्नुभएको सो भवन जनस्तरबाट सहयोग संकलन तथा संघीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।