निर्वाचन आयोगले ४ गते मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको उमेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ । प्रतिनिधिसभाको उमेदवारले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा २५ देखि ३३ लाख सम्म खर्च गर्न पाउने छन् । जसमाध्ये ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रका लागि ३३ लाख अधिकतम (५ तहको) खर्च निर्धारण निर्वाचन आयोगले आइतबार निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । साथै प्रतिनिधिसभाको समानुपातिक तर्फ २ लाख चुनाव खर्च सिमा तोकेको जनाउनु भयाे ।
यस्तै प्रदेशसभा सदस्यतर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख रूपैयाँ, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख रूपैयाँ र ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख रूपैयाँ खर्चको सीमा तोकिएको जानकारी उनले दिए। २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख रूपैयाँ र ३२ वटा निर्वाचन क्षेत्रमा २३ लाख रूपैयाँ तोकिएको पनि उनले उल्लेख गरे।
प्रदेशसभातर्फ समानुपातिक उमेदवारले १ लाख ५० हजारको खर्च सिमा निर्धारण भएको जनाए । तोकिएको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा वा विद्युतीय माध्यम सामाजिक सञ्जालसमेत, कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषयमा खर्च गर्न सकिने बताउनु भयो । निर्वाचन सम्पन्न भएपश्चात अन्तिम परिणाम प्रकाशित भएको ३० दिनभित्र सम्बन्धित उम्मेदवारले आयोगमा खर्चको विवरण पेश गर्नुपर्ने पनि आयोगका प्रवक्ता पौडेलले जनाउनु भयो ।