– बिनोद विश्वकर्मा
धरान उपमहानगरपालिका–१५ स्थित अमृत टोलका कृष्ण बिष्ट लामो समय बस चालक बने । उमेर ढल्किदै गए पश्चात बस चालक बिष्ट टेम्पो चालक बनेका छन् । उनी भन्छन्, ‘लामो समय बस चलाए । टेम्पो चालक बनेको पनि ५ वर्ष पुगेछ ।’ पेट्रोलबाट टेम्पो चलाइरहेका बिष्ट दुई वर्ष अघिदेखि ग्याँसबाट चलाउन थाले । ५३ वर्षीय बिष्ट ग्याँसबाट टेम्पो चलाउन थाले पश्चात खुसि थिए । पेट्रोल भन्दा ग्याँस सस्तो र माइलेज पनि धेरै । तर त्यो खुसि धेरै दिन टिकेन । उनी भन्छन्, ‘ग्याँसबाट चलाउन ३५ देखि ४० हजार रुपैयाँ खर्च भयो । अहिले निल्नु न ओकल्नु भएको छ ।’ उनका अनुसार ग्याँसबाट टेम्पो चलाउन ग्याँस सिलिण्डरलगायतका सामाग्री सेट गर्न ४० हजार रुपैयाँ खर्च भएको थियो ।
धरान ८ का बरगाछीका प्रदिप चाौधरी टेम्पो चालक बनेको ८ वर्ष भयो । उनी टेम्पो ग्याँसबाट चलाउन पाइने, त्यहाँमाथि खर्च कटौती हुने कुराले उत्साहित थिए । उनी भन्छन्, ‘टेम्पो ग्याँसबाट चलाउन थाले पश्चात खुसि हरायो । ग्याँसले टेम्पोमा समस्यै समस्या भएको छ ।
धरान १५ का बाबुराम पौडेलले टेम्पोमा ग्याँस जडान गरेको एक वर्ष भयो । ६ महिनादेखि ग्याँस नपाएको उनले दुखेसो गरे । उनी भन्छन्, ‘याँसबाट टेम्पो चल्छ भन्दा खुसि भइयो । कम्पनीकै च्यानलबाट ग्याँस सिलिण्डर जडान गरे ।’ तर, कम्पनीमा कहिल्यै पर्याप्त ग्याँस पाइएन । उनी भन्छन्, ‘कच्चा पदार्थको कमि हो । लगानीका समस्या हो । थाहा भएन ।’ तर ग्याँस अभाव भए पश्चात टेम्पोमा कहिले ग्याँस त कहिले पेट्रोलबाट चलाउनु पर्ने भयो । उनी भन्छन्, ‘फरकफरक इन्धनबाट चलाउँदा गाडीलाई बढि असर पर्दोरहेछ ।’ उनी थप्छन्, ‘वर्षदिनमा ३ पटक इन्जिन खोल्नु पर्यो ।’ प्रत्येक पटक इन्जिन खोल्दा न्युनतम् २५ हजार रुपैयाँ खर्च हुन्छ । साथै अन्य खर्च पनि हुने गरेको चालकहरुको भनाई छ । चालक पौडेल भन्छन्, ‘मुख्य समस्या ग्याँस नपाउनु हो ।’ ६ महिलादेखि ग्याँस नपाएको भनाई छ । उनीहरु सबैको समस्या एउटै हो । ग्याँसको अभाव । चालकहरुको पेट्रोलभन्दा ग्यासमा केही सस्तो पर्न गए तापनि अन्य खर्चले घाटा नै भएको भनाई छ । ग्याँस आपुर्ति नभएपछि धेरै टेम्पो चालकले ग्याँस सिलिण्डर झिकी सकेका छन् । तर, इनर्जी वेष्ट भेन्चर प्रा.ली.ले भने ४ महिनायता ग्याँस दिन नसकेको जानकारी दिएको छ ।
उनीहरुले टेम्पो चलाउन प्रयोग गर्ने ग्याँस धरानकै फोहोरबाट उत्पादन गरिएको ‘कम्प्रेस्ड नेचुरल ग्याँस’ (सिएनजी) हो । हाल धरानमा २४ वटा टेम्पो सिएनजीबाटै चलिरहेका छन् । उनीहरूको अनुभवमा १ किलो ग्याँस हाल्दा धरानमा ३० किलोमिटर र तराई क्षेत्रमा ४० किलोमिटरसम्म टेम्पो चलाउन सकिन्छ । ७ वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उपमहानगरपालिका र निजी क्षेत्रको ‘भेन्चर वेस्ट एण्ड इनर्जी प्रालि’ बीच फोहोरबाट ग्याँस र जैविक मल उत्पादन गर्ने सम्झौता भएको थियो । २०७४ जेठ २५ को सम्झौता अनुसार धरान–६ को पानबारीमा १ बिघा २ कठ्ठा जग्गामा भेन्चर वेस्टले २४ करोडको लागतमा फोहोर प्रशोधन केन्द्रको स्थापना गरेको थियो । २०७८ पौष २० गते ‘धरान डे’ को अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याँस र मल उत्पादन प्लान्टको उद्घाटन गरेका थिए । तर, धरानको फोहोर व्यवस्थापनका लागि महत्वकांक्षी योजनाको त्रिपक्षीय सम्झौता भएको ७ वर्षसम्म पनि समस्या ज्यूँका त्युँ रहको छ ।
हाल धरानको आधाजसो फोहोर भेन्चर वेस्टको प्लान्टमा पुर्याइन्छ । त्यसमध्ये जैविक फोहोरलाई छानेर प्रशोधन गरी सीएनजी ग्याँस निकालिन्छ । त्यही ग्याँस धरान–८ मा रहेको फिलिङ स्टेसनबाट मोडिफिकेशन गरी मल्टिफ्युल बनाइएका टेम्पोहरूले प्रयोग गर्दै आएका छन् । भेन्चर वेस्टका प्रबन्ध निर्देशक मदन कृष्ण श्रेष्ठका अनुसार ग्यास उत्पादनपछि बचेको फोहोरलाई पुनः प्रशोधन गरी प्राङ्गारिक मल बनाएर बिक्री गरिन्छ भने नकुहिने फोहोरमध्ये पुनः प्रयोग गर्न सकिनेलाई कवाडीमा बिक्री गरिन्छ । कवाडीमा पनि बिक्री नहुने २० देखि २५ प्रतिशत फोहोर भने धरान–इटहरी सडकनजिकै जङ्गलमा रहेको ल्याण्डफिल्ड साइडमा फाल्ने गरिएको छ । धरान उपमहानगरपालिकाका अनुसार एक जना बराबर ०.३२ केजी (३ सय २० ग्राम) फोहोेर उत्पादन हुने तथ्याङ्क छ । २०७८ सालको जनगणनाअनुसार धरानको कुल जनसङ्ख्या १ लाख ६६ हजार ५ सय ३१ रहेको छ । जनसंख्यालाई आधार मान्ने हो भने धरानमा दैनिक ५३ हजार २ सय ८९ केजी फोहोर निस्कने गर्छ । तर, धरान उपमहानगरपालिकाका वातावरण महाशाखा अधिकृत भेषराज घिमिरे धरानमा यति नै फोहोरको एकिन तथ्याङ्क नभएको बताउँछन् । उनका अनुसुार दैनिक करिब ४५ देखि ५० टन फोहोर निस्कने बताउँछन् ।
नेपालमा उत्सर्जन हुने फोहोरको ६० देखि ६५ प्रतिशत जैविक फोहोर हुने गरेको मानिन्छ । भेन्चर वेस्टका सहसंस्थापक विपुलराज पाण्डे धरानबाट ५० प्रतिशतभन्दा कम जैविक फोहोर, २५–३० प्रतिशत पुनः प्रयोग हुने र २० देखि २५ प्रतिशत पुनः प्रयोग गर्न नसकिने फोहोर प्लान्टमा आउने गरेको बताउँछन् । उनका अनुसार ५० टन फोहोर प्रशोधन गर्ने क्षमता भएको प्लान्टमा ३० टन जैविक र २० टन अजैविक फोहोर प्रशोधन हुने गर्दछ । उनी प्लान्ट पूर्णरूपमा चल्दा २ हजार किलो ग्याँस उत्पादन गर्न सकिन्छ । त्यसका लागि भर्खर मात्र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृति लिएको सह संस्थापक पाण्डे बताउँछन् । भन्छन्, ‘दुईहप्तादेखि ३ सय टेम्पोलाई पुग्ने उत्पादन हुन्छ ।’ धरान उपमहानगरपालिकाको तथ्यांकमा धरानमा पेट्रोलबाट चल्ने ४५ सयभन्दा बढी टेम्पो छन् ।
संस्थापक पाण्डे भन्छन्, ‘३ सय टेम्पोलाई मात्र सीएनजी ग्याँसबाट दिन सक्यौ भने धरानमा टेम्पोबाट उत्सर्जन हुने कार्बन झण्डै ७ प्रतिशतले कमी हुन्छ ।’ पाण्डे सय केजी ग्याँसले दुई सय लिटर पेट्रोल प्रतिस्थापन गर्ने भएकाले वर्षमा ९ लाख लिटर पेट्रोलको १३ करोड विप्रेषण बचत हुने बताउँछन् । प्लान्टमा ग्यास निकालिसकेपछि जैविक फोहोरबाट निकालिने बायो मल प्रति २ केजीको प्याकेट ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ग्याँस बनाउन नमिल्ने अजैविक धातु, सिसा, कागजलगायत २५ प्रतिशत प्लास्टिजन्य फोहोर पुनः प्रयोग हुने भएकाले कवाडी र पुनः प्रयोग गर्ने कम्पनीहरूलाई बिक्री गरिन्छ ।
उनको प्लान्ट सञ्चालनमा आएपछि ल्याण्डफिल्ड साइडमा जाने फोहोर ८० प्रतिशतले कमि आउने भएकाले वातावरणीय क्षति कम हुने भनाई छ । उनी भन्छन्, ‘पुनः प्रयोग नहुने फोहोरलाई पनि कसरी प्रयोग गर्ने भन्ने सोचिरहेका छौँ ।’ उनी योजना सफल भएमा अधिकतम् ६ प्रतिशतभन्दा फोहोर मात्र डम्पिङ साइडमा जाने बताउँछन् । धरान उपमहानगरपालिकाले ४, ५, ६ र २० वडाहरुको हाल फोहोर सङुकलन गर्न थालेको छैन । २०४३ सालदेखि धरानले वडानम्बर १५ स्थित बाँझगरा सामुुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रलाई अस्थायी ल्याण्डफिल्ड साइडको रूपमा प्रयोग गरिरहेको छ ।
स्वामित्व हस्तान्तरण नगर्दा करोडौं घाटा
उपमहानगरापालिकाले दीर्घकालिन फोहोर व्यवस्थापनका सम्झौता गरेको वेष्ट भेन्चरलाई सम्पुर्ण स्वामत्वि हस्तान्तरण नगर्दा करोडौं घाटा भइरहेको छ । वातावरण महाशाखा प्रमुख अधिकृत घिमिरे उपमहानगरपालिकाले फोहोर संकलनको सबै जिम्मा निजी क्षेत्र भेन्चर वेस्टलाई नै दिन सम्झौता गरेको बताउँछन् । उनी वेष्ट भेन्चरलाई जिम्मा दिएपछि फोहोर संकलन र व्यवस्थापनको वार्षिक खर्च कटौती आउने बताउँछन् । हाल फोहोर उठाएबापत उपमहानगरपालिकाले वार्षिक ६६ लाख रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ । तर, उपमहानगरपालिकाले फोेहोर व्यवस्थापनका लागि वार्षिक ४ करोड रुपैयाँ खर्च गर्दै आएको छ । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकामा ७० जना सरसफाइकर्मी र ८ वटा गाडी छन् । सम्झौता भए उपमहानगरका सरसफाइकर्मी र गाडी भेन्चर वेस्टको जिम्मामा जानेछन । महाशखा प्रमुख घिमिरे भन्छन्, ‘फोहोर संकलनदेखि व्यवस्थापन सबै उसैले गर्छ । कर्मचारी पनि उतै जान्छन् । सेवा पनि राम्रो हुन्छ ।’ वेष्ट भेन्चर सहसंस्थाक पाण्डे सम्झौताअनुसार फोहोर संकलन र व्यवस्थापनको सम्पुर्ण जिम्मा लिन अझै दुई वर्ष बाँकी रहेको बताउँछन् । उनी गाडी र करारका कर्मचारी भेन्चरमा आउने उनको भनाई छ । स्थायी कर्मचाारी भने उपमहानगर मातहतमा नै रहनेछन् । २० वर्ष पश्चात भने सम्पुर्ण सम्पत्तिसहित ग्याँस कम्पनी धरान उपमहानगरपालिकाको स्वामित्व आउने महाशाखा प्रमुख घिमिरे बताउँछन् ।
फोहोर सङ्कलनमा शुल्क बृद्धि
निजी क्षेत्रले फोहोर संकलन तथा व्यवस्थापनको सम्पुर्ण जिम्मा पाए पश्चात शुल्क बृद्धि हुनेछ । उपमहानगरापालिकाका अनुसार फोहोर सङ्कलन बापत हाल वार्षिक ६ सय रुपैयाँ लिने गरेको छ । भेन्चरका सहसंस्थापक पाण्डेका अनुसार प्रतिमहिना एक सय पच्चिस रुपैयाँदेखि एक सय पचास रुपैयाँको प्रस्तवना पेश गरिएको छ । उनी भन्छन्, ‘वार्षिक एक हजार अठ सय हुन्छ । छिमेकी नगर इटहरीमा मासिक ३ सय २० रुपैयाँ छ ।’
कानूनी प्रक्रियामा जान्छौँ
टेम्पो चालकहरु वेष्ट भेन्चरले भनेअनुरुप ग्याँस आपुर्ति नगरेको र ग्याँसका कारणले आर्थिक क्षति ब्यहोर्नु परेकाले कानूनी उपचार जाने बताउँछन् । चालक कृष्ण बिष्ट भन्छन्, ‘कि ग्याँस दिनुपर्यो । कि पैसा फिर्ता दिनुपर्यो ।’ उनी दुई माग पुरा नगरे कानूनी उपचारमा जाने बताउँछन् । टेम्पो चालक बाबुराम पौडेल पैसा लिएको अनि सेवा नदिएको बताउँदै भन्छन्, ‘‘हामी क्षतिपुर्तिका लागि कानूनी उपचारमा जानुको विकल्प छैन ।’ वेष्ट भेन्चरका संस्थापक पाण्डे भन्छन्, ‘दुई हप्तादेखि ३ सय वटा टेम्पोलाई ग्याँस पुग्ने गरी सञ्चालन गर्छौ ।’
६ करोड अनुदान
भेन्चर वेस्ट एण्ड इनर्जी प्रालि’ ले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ६ करोड रुपैयाँ अनुदान पाएको छ । भेन्चरका सहसंस्थापक पाण्डेका अनुसार कुल २४ करोड रुपैयाँ कम्पनी निर्माणमा खर्च भएको छ । उनी भन्छन्, ‘त्यसको २५ प्रतिशत सरकारले दिएको छ ।’ उनी सरकारले घरजग्गामा लगानी नगर्ने बताउँदै भन्छन्, ‘मेसिनमा मात्र लगानी गर्छ ।’ साधनमा ३० देखि ४० प्रतिशत सरकारले लगानी गरेको छ । यन्त्र उपकरणलाई ६ करोड दिएको उनी बताउँछन् ।
मन्त्रालयमा स्वीकृत, यातायातमा दर्ता
कानूनी समस्याका कारण भेन्चर वेस्टले लामो ग्याँस उत्पादन बढाउन सकेको थिएन । टेम्पो चालकहरु पर्याप्त ग्याँस नपाउनेदेखि बिमा नहुनेसम्मका समस्यामा झेल्दै आएका छन् । भेन्चरका सहसंस्थापक पाण्डे कोशी प्रदेश आन्तरिक मामिला तथा कानुण्न मन्त्रालयबाट स्वीकृत पाएको बताउँछन् । यातायात व्यवस्था कार्यालय सुनसरीका प्रमुख राजकुमार गुप्ता मन्त्रालयबाट स्वीकृति ल्याएपछि यातायातमा पनि दर्ता गर्न बाटो खुलेको बताउँछन् । उनी भन्छन्, ‘प्रक्रिया पुरा गरी प्रमाणका आधारमा दिने हो । हामी प्रमाण हेर्छौ । प्रक्रिया पुगेपछि दिन्छौँ ।’
फोहोर सङ्कलनको काम नगरको होइनः महालेखा
धरान उपमहानगरपालिकाको फोहोर संकलन र व्यवस्थापनको काम नगर नभई वेष्ट टु इनर्जी भेन्चरको भएको देखाएको छ ।
महालेखा परिक्षकको प्रतिवेदनमा फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुसार स्थानीय तहहरुले स्रोतमै फोहरमैलाको वर्गीकरण गर्न लगाई सोही अनुसार सङ्कलन र व्यवस्थापन गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । धरान उपमहानगरपालिका, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र भेन्चर वेस्ट टु इनर्जी प्रा.ली. बीच भएको सम्झौतामा ठोस फोहोरो संकलन तथा वर्गीकरण वेस्ट टु इनर्जी प्रा.लि. गर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यालयको श्रेस्ता परीक्षण गर्दा फोहोर संकलनमा उपमहानगरपालिकाको सवारी साधन तथा संकलनकर्ता प्रयोग गरी खर्च गरेको प्रतिवेदनमा भनिएको छ । सम्झौताअनुसार उपमहानगरको ठोस फोहोर संकलनको काम वेष्ट टु इनर्जीको भएकोले पालिकाले नगर क्षेत्रको सरसफाईको लागि मात्र खर्च गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।
यो स्टोरी धरान उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा धरान उपमहानगरपालिकाले दिएको बिषयमा पत्रकार बिनोद विश्वकर्माले तयार पारेको स्टोरी लेखन हो । यसका सम्पादक गोपाल दाहाल हुन ।