हरेक राजनीतिक दलहरुले चुनावी एजेन्डा बनाउदै आएका धरानको बिमानस्थल बनाउन कुरा बर्तमान मेयर हर्क राज राई (साम्पाङ) कम्मर कसेर लागेकाछन । आफु निर्वाचित भए यता हरेक कामहरु श्रमदानबाटै गर्न रुचाउने र गरिरहेका साम्पाङमा धरानको बिमानस्थल पनि श्रमदानबाट बनाउने घोषणा गरेकाछन । धरानमा विमानस्थल निर्माणको चर्चासँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन थालेको छ । टोलीले आज स्थलगत अध्ययन गरेकोछ । अध्ययन समितिलाई सहजीकरण गर्न धरान १७ स्थित प्रस्तावित विमानस्थल धावनमार्ग निर्माणस्थलमा पुगेका नगर प्रमुख साम्पाङले अध्ययन समितिलाई काम गर्न दिन स्थानीयलाई आग्रह गरेका छन ।
धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिबारे अवलोकन गरेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत बिमल खनाल र चार्टर्ड एकाउण्टेण्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो । बुधबार धरान आइपुगेको टोलीले उपमहानगरपालिकामा छलफल गरेपश्चात आज स्थलगत अध्ययन सुरु गरेको हो ।अध्ययन टोलीका संयोजक थापाले विगतमा भएका अध्ययन प्रतिवेदनलाई नै आधार मानेर अध्ययन अघि बढाइएको बताउनुभयो । सोही स्थानमा विमानस्थल निर्माणका लागि भनेर प्राधिकरणले पहिला पनि अध्ययन गरेको थियो ।
प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो ।अध्ययन टोलीका संयोजक थापाले हाल नेपालमा ७२ सिट क्षमताका जहाज प्रचलनमा रहेकाले उक्त जहाजका लागि विमानस्थल बनाउन अझै धेरै जग्गा आवश्यक पर्ने बताए । डाँडा घोपामा निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले विमानस्थल निर्माण गर्ने भनेर २०६० सालमा करिब सात बिघा जग्गा खरिद गरेको थियो । नगर प्रमुख साम्पाङले एयरपोर्टको नाममा यति एयरलाइन्सले लिएको जग्गा नेपाल सरकारको नाममा ल्याउनेसमेत बताए ।