अगामी बर्ष २०८० मा चाडपर्वहरु केही समय पछी धकेलिएकोछ । यो वर्ष साउनमा अधिकमास अर्थात् मलमास परेका कारण हिउँदका चाडपर्व सरेका हुन्’ नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले बताए । ढुंगेलका अनुसार २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन्। कोजाग्रत पूर्णिमा कात्तिक ११ गते परेको छ।
नागपञ्चमी भने भदौ ४ गते परेको छ। यस्तै श्रीकृष्णजन्माष्टमी पर्व भदौ २० गते मनाइने छ। कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिन भदौ २८ गते परेको छ। तीजपर्व असोजको १ मा पुगेको छ। गणेशचतुर्थी र ऋषिपञ्चमी असोज २ गते नै मनाइने पञ्चांगमा उल्लेख छ। त्यो दिन १२ घटी २५ पलासम्म चतुर्थी र त्यसपछि पञ्चमी लाग्ने बताइएको छ। सोह्र श्राद्ध असोज १३ गते सुरु भई २७ सम्म रहनेछ।