पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको छ । नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कार्वाहीको लागी पत्र लेखेको हो ।रौतहट क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा सो क्षेत्रका उम्मेदवार माधवकुमार नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएकोप्रति आयोगको ध्यानाकर्षण भएको थियो । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २० को उपदफा १ को खण्ड च मा उम्मेदवारले कुनै किसिमले लोभ लाल देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था रहेको र सोही ऐनको दफा २० को उपदफा १ को खण्ड ‘च’ विपरितको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था रहेको जनाएको छ ।