पशुमा देखिने रोग ‘लम्पी स्किनका कारण ३ बर्षमा नेपालमा करिव चालिस अर्बको क्षति भएको तथ्याङक सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। हाल भने लम्पी स्किन रोग सबै जिल्लामा फैलिएकोछ । भैसीमा भन्दा धेरै गाईमा देखिने यो रोगबाट ३ बर्षभित्र २८ हजार ४२४ पशु मरेका छन् । नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोजकुमार शाहीले लम्पीबाट असार मसान्तसम्ममा ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ रुपियाँको क्षति पु¥याएको जानकारी दिए ।
पशु चकित्सकका अनुसार लम्पी लागिसकेपछि निको भए पनि उक्त पशुको क्षमता ८० प्रतिशत नाश भइसकेको हुन्छ। त्यसले पूर्ववत् जीवन जिउन र काम दिन सक्दैन। त्यसैले सङ्क्रमित भएको विवरणका आधारमा आर्थिक नोक्सानीको हिसाब निकालिएको हो। लम्पी स्किनको सङ्क्रमणको असर चौतर्फी देखिन थालेको छ। मुख्य खेती हुने सिजनमा गोरुलाई लम्पी स्किनले सताउँदा समयमै खेती हुन सकेको छैन।