केहीदिन देखी निरन्तर चलिरहेको तातो हावा अझै ५ दिनसम्म निरन्तर चल्ने भएकोछ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने जनाएको छ ।हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएको महाशाखाको भनाई छ ।तातो हावा तथा लूबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने महाशाखाले जनाएको छ ।तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी ननिक्लन, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।