भर्खरै ५१ औ दिन मनाएको सफल चलचित्र ‘जारी’ प्रदर्शनबाट संकलित रकम मध्येबाट रु एक लाख रकम धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (साम्पाङ) को खानेपानी अभियानलाई सहयोग गरेकोछ । भर्खरै बाट दक्षिण कोरियामा नेपाली चलचित्रको प्रदर्शन गर्न थालेको कम्पनी परदेशी ईन्टरटेन्टमेन्टले समाजसेवी मीना सिङ्गकको माधयमद्वारा मेयर साम्पाङलाई रकम हस्तान्तरण गरिएको छ ।दक्षिण कोरियाको मोक्पो शहरस्थित परदेशी ईन्टरटेन्टमेन्टद्वारा आयोजित नेपाली कथानक चलचित्र “जारी” प्रदर्शनीबाट संकलित रकम मध्ये नगद रु. एक लाख सहयोग गरिएको मिना सिङ्गकले जानकारी दिइन । परदेशी ईन्टरटेन्टमेन्टले रकम सङ्गै एक मनछुने पत्र समेत पठाएको सिङ्गकले जानकारी दिइन । पत्रमा नगर प्रमुखहरु मध्ये उदाहरणीय नगर प्रमुख भई काम गरिरहनु भएको भन्दै योगदानको उच्च मुल्याङ्कन गरेको जनाइएकोछ ।
पत्रमा समाजसेवी मीना सिङ्गकको खुलेर प्रसंशा गरिएको छ । पत्रको एक लाइनमा संस्कृतिकर्मी, प्रेरणाको स्रोत, समाजसेवी भनिएकोछ । परदेशी ईन्टरटेन्टमेन्टको पत्रमा श्रम संस्कृतीबाट प्रभावित भई हाल सञ्चालन भइरहेको कोकाहा खानेपानी योजना सञ्चालनार्थ श्रमदान अभियानमा जोडिएर थोरै सहयोग पुर्याउने प्रयास गर्न पाउदा खुशी लागेको उल्लेख गरिएको छ । साम्पाङको श्रम संस्कृति, खानेपानी योजना, लागुऔषध विरुद्धको अभियान, माया धराने साबुन फ्याक्ट्री साथै सुखी, शान्त, समृद्ध, समुन्नत, विकसित धरान साम्पाङकै कार्यकालमा पुरा होस भनी शुभेच्छा प्रकट गरिएकोछ ।