कालीकोटको तिलागुफा नगरपालिका—१० रानाबाडामा कोदोबारीमा बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ भने तीन जना बालबालिका घाइते भएका छन्। उनीहरू घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले द्वन्द्वकालमा फालिएको बम हुनसक्ने बताउनुभयो ।
उहाँकाअनुसार घाइते बालबालिकाहरूलाई जिल्लामा उपचार हुन नसक्ने भएपछि गृह मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ।विस्फोट हुँदा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको हो ।यस्तै, घटनामा गम्भीर घाइते चार वर्षीया सरस्वती रानाको पनि उपचार क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीन वर्षीया दर्शना राना, पाँच वर्षीया मुस्कान थापा र सात वर्षीय कमल थापा घाइते भएका छन् ।