धरानमा जारी २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा विजयी हुँदै १७ वडा र १३ वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।धरानमा नै पहिलो पटक रात्रिकालीन फ्लड लाइटमा भइरहेको प्रतियोगितामा मङ्गलवार साँझ भएको पहिलो खेलमा ४ पटकको विजेता १७ वडाले २० वडालाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित भएको २० वडा भने प्रतियोगिताबाट बाहिरिएको छ ।
१७ वडाकालागी कृष्ण राईले दुई गोल गरे भने पासाङ तामाङले एक गोल गरे । १ वडालाई ४ गोल गर्दै फ्री क्वाटरमा १७ वडासँगको भेट पक्का गरेको २० वडाले १७ वडासँगको खेलमा भने राम्रो प्रदर्शन गर्न सकेन ।बी डिभिजन खेल्नकालागी १७ नं. वडाका केही सिनियर खेलाडी काठमाडौँमा नै रहेपनि २०वडासँग राम्रो खेल प्रदर्शन गरेको छ । खेलको म्यान अफ द म्याच १७ नं. वडाका कृष्ण राई घोषित भए । १७ वडाले १८वडासँग क्वाटर फाइनलमा खेल्नेछ ।
त्यस्तै मङ्गलवार नै भएको दोस्रो खेलमा ४ वडालाई २–० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन १३ वडा प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पराजित भएको ४ वडा भने प्रतियोगिताबाट बाहिरिएको छ । १३ वडाकोलागी सुशान्त राई र निकोलस राईले गोल गरे ।प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३४ औँ मिनेटमा सुशान्त राईले गोल गर्दै १३ वडालाई अग्रता दिलाएका थिए । सब्टीच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको निकोलस राईले खेलको ७३ औँ मिनेटमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।