अहिले सफलता का साथ प्रदर्शनमा आइरहेको चलचित्र ‘अन्जिला’ को रिल आमा अर्थात सिनेमामा भएकी आमा कलाकार सिर्जना सुब्बा भोली बिहीवार धरान र इटहरी आउने भएकी छिन । पछील्लो समय बेलायतमा बस्दै आएकी सिर्जना चलचित्रमा मुख्यकलाकार अन्जिला सुब्बाको आमाको भूमिकामा छिन । बेलायतमा बसिरहदा नेपालमा दर्शकहरुले चलचित्रलाई अत्यधिक मनपराएर माया गरिदिनु भएपछी झन माया बढेर बेलायतमा बस्नै सकिन यसकारण नेपाल आए सिर्जनाले एअरपोर्ट ओर्लिन साथ भनेकी थिइन । काठमण्डौका बिभिन्न सिनेमाहलहरुमा दर्शक भेटघाट पछी पुर्वका दर्शकहरुको माया देखेर माया साट्न पुर्व आउन लागेकी चलचित्रका निर्देशक मिलन चाम्सले जानकारी दिए ।
सिर्जना बिहीवार दिउसोका शो हरुमा इटहरीको इलाइट सिनेमा र धरानको फ्रेण्ड्स सिनेमाजमा आउन लागेकी हुन । चलचित्र यतिबेला देशभरीका सिनेमाहलहरुमा हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलवारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, चलचित्रको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ । उनले भने, “हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।”निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे ।