धरान उपमहानगरपालिकाको १२४ औ स्थापना दिवसको अवसरमा यही पौष २० गते देखी २४ गतेसम्म धरान डे अर्थात ‘धरान डे ‘ हुने भएको छ । हरेक बर्ष पौष २० गतेलाई धरान स्थापनाको दिन मान्दै धरान उत्सव मनाउदै आइरहेको छ । यो बर्ष २०८१ मा १२४ औ स्थापना दिवस मनाउने बारे जानकारी दिन शुक्रबार धरान उपमहानगरलालिकाको सभाहलामा पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा ५ दिन सम्म आयोजना हुने कार्यक्रमको बारेमा जानकारी गराइएकोछ । पौष २० गते स्थानिय बिदा दिइने पनि जानकारी गराइयो । उत्सव गत बर्षहरुमा झै यस बर्षपनी पाँचदिनसम्म मनाउने तयारी भएको मेयर हर्कराज राई साम्पाङले जानकारी दिए । पत्रकार सम्मेलनमा पौष २० गतेदेखि २४ गतेसम्म आयोजना गरिने कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
बिगतका बर्षहरुमा धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा हुँदै आएको उत्सव यो बर्ष भने धरान–१६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमा आयोजना गरिने भएको छ ।धरान डे उत्सवको संयोजकमा मेयर साम्पाङ संयोजक र सहसंयोजक उपमेयर अइन्द्रविक्रम बेघा छन । उत्सवका समपन्न गर्न मूल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।
धरान डे अवसरमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिनेछ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ । धरान डेमा प्रवेश निःशुल्क हुने साथै स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने जनाइएको छ । कार्यक्रममा रोटेपिङ, बालबालिका रमाउने सामग्री पनि यसपटक राखिने भएको छ ।
धरान उत्सव धरान नगर स्थापना भएकाले यो सबै धरानेको उत्सव भएको मेयर साम्पाङको दावी छ । बिगतका बर्षहरुमा ३ दिन मात्र मनाइदै आएको उत्सव गत बर्षबाट ५ दिन सम्म मनाइदै आइएको छ । उत्सवमा बिशेषगरी धरानलाई चिनाउने खाना, जातिय परिकार, यहाँको स्थानीय उत्पादन लगायत मुख्य आकर्षणका बिन्दु हुनेछन । यस बर्ष बिशेषगरी स्वास्थ्य क्षेत्रलाई ध्यान दिएर पाचै दिन स्वास्थ्य शिविर, एम्बुलेन्स सेवा उपलब्ध हुनेछ । उत्सवमा सरसफाइ अभियान, जातीय र्याली,सहकारी क्रियाकलाप,सम्मान कार्यक्रम साइकिलिङ,साहित्यिक,सम्मान कार्यक्रम,वाकाथुन,विद्यालय खेलकुद प्रतियोगिताहरु,लोकदोहोरी, श्रमदाता र्याली,झाँकि प्रदर्शनी कार्यक्रम, लगानी गोष्ठी सञ्चालन,रस्सी तान प्रतियोगिता,कदरपत्र तथा प्रशंसा कार्यक्रम हुने भएको छ ।