गत मंसिर १५ गतेदेखि शुरु भएको नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणको पहिलो च्याम्पियन जनकपुर बोल्ट्स बनेको छ । प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । आज भएको सुदूरपश्चिम र जनकपुर बिचको खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको उपाधि चुमेको हो । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो ।
सुदूरपश्चिम अङ्कतालिकामा शीर्ष र जनकपुर दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा आठ विकेटले हराएको थियो । एनपीएल विजेता जनकपुर बोल्ट्सले ट्रफीसहित एक करोड १० लाख तथा दोस्रो भएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै तेस्रो टोली कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको आयोजना गरेको हो ।