बुधबार (असार १९) गते बिहानदेखि बेपत्ता भएका इटहरी निवासी डा. रामजी तिम्सिनाको खोजी कार्य्र तीव्र रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले तिम्सिनाको खोजी कार्य तीव्र भइरहेको जानकारी दिए ।त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापकसमेत रहेका तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर बेपत्ता भएका हुन् । उनले लेखेको त्यो चिर्कटो मुनि ‘मिति २०८१।०३।१९ बुधबार बिहान ४ः१८ बजे’ लेखिएको छ । पारिवारिक स्रोतका अनुसार तिम्सिना बेपत्ता भएपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाउँ’ भनेर निवेदन दिइएको छ ।घरका अरू कोही परिवार उठ्नु अगावै उनले चिर्कटो लेखेर कम्प्युटर नजिक राखेपछि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
सार्वजनिक सवारी र अटो, सफारी प्रयोग गर्ने तिम्सिना आफैँ सवारी चलाउँदैनथे पारिवारिक स्रोतले भन्यो । बिहानको समय भएकाले, कहाँ, कसरी गए भन्नेबारे पनि अन्योल रहेको पारिवारिक भनाइ छ ।तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा अध्यापन गर्थे । उनका शुभचिन्तकहरूले पनि खोजी कार्य गरिदिन अपिल गरेका छन् । उनी खासगरी समालोचनामा रूचि राख्छन् । इटहरीसहित पूर्वमा भएका विभिन्न साहित्यिक, वैचारिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी जनाउँदै आएका तिम्सिना विभिन्न पुस्तक तथा अन्य विषयमा पनि आफ्नो समालोचना प्रस्तुत गर्दै आएका छन् ।उनी आश्चर्यचकित ढंगबाट बेपत्ता भएपछि शुभचिन्तकहरूले चिन्ता प्रकट गरेका छन् ।