धरानमा आजबाट निःशुल्क डेंगु ज्वरो परीक्षण सुरु भएको छ । बिहान १० बजेदेखी साझा ५ बजे सम्म चल्ने परीक्षण धरान – ८ स्थित धरान सभागृहमा सुरु भएको हो । डेंगुको आशंका भएका विरामीहरुको लागि धरान उपमहानगरपालिकाले निःशुल्क परीक्षण शिविर शुरु गरेको हो । आज जम्मा ६६ जनाले निःशुल्क डेंगु परिक्षण गराएकोमा ५० प्रतिशतमा अर्थात ३३ जनामा डेंगु भेटिएको थियो । शिविरमा ज्वरो आएका विरामीहरुलाई किटद्धारा डेंगु संक्रमण भएको हो कि होइन भनेर परीक्षण गरिएको हो ।
डेङ्गु एनएस वान, आइजिजि र आइजिएम गरि तीन प्रकारको हुने गरेको र त्यसमध्ये दुई वटा पोजेटिभ भएमा सिबिसि टेष्ट गर्नु अनिवार्य गर्नु पर्ने धरान पञ्चांग आर्युवेद औषधालयका वैध लक्ष्मण प्रसाईले जानकारी दिए । । सिसिबि टेष्ट गर्दा मात्र रगतको मात्रा, प्लेटलेटको अवस्था पत्ता लाग्ने प्रसाईले बताए । उक्त परीक्षण भने यो शिविरमा नभएको र आवश्यक सामग्री प्रबन्ध भएमा गर्नसकिने उनले बताए । धरान छाताचोकमा रहेको पुरानो अस्पतालमा प्रदेश स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा २५ बेडको अस्पताल भोली (मंगलबार)देखि शुरु गर्ने तयारी भइरहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।