गत फुलपातीबाट प्रदर्शनमा आएको चलचित्र ‘माईतीघर’ को मुख्य कलाकारहरुको टिम यतिबेला मोफसलका दर्शकहरु भेट्न उपत्यकाबाट निस्किएको छ । टिम यतिबेला नेपालगञ्नको सिनेमाहल हरुमा दर्शकहरु संग भेटघाटमा व्यस्त रहेको छ । चलचित्र ‘माइतीघर’ले प्रदर्शन सुरु भएको केही दिनमै देशभर उत्साहजनक व्यापार गर्दै उत्कृष्ट सफलता हासिल गरिरहेको छ । बडादशैँको फूलपातीका दिनबाट प्रदर्शनमा आएको यस फिल्मले पछिल्ला दिनहरूमा दर्शकको प्रशंसा र साथ दुवै पाउँदै आफ्नो प्रदर्शनलाई अझै बलियो बनाएको छ । दशैंपछि फिल्मको व्यापार झनै उचाइमा पुगेको छ । विशेषगरी मंगलवार नेपालगञ्जमा ‘माइतीघर’ले बम्पर व्यापार गरेको छ ।
त्यहाँको सिने रोयल सिनेमा हलमा सातै शो हाउसफुल भएका छन्, जसले फिल्मप्रतिको दर्शक उत्साह झल्काएको छ । निर्माता रोहित अधिकारी कलाकारहरूसहित सोमवार साँझ नेपालगञ्ज पुगेका थिए । उनका अनुसार आज हल पुगेका धेरै दर्शकहरूले टिकट नै पाउन सकेनन् । स्थानीय दर्शकहरूले काठमाडौंबाट पुगेका कलाकारहरू केदारप्रसाद घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल र निर्देशक मिलन तामाङलाई भव्य स्वागत गरेका थिए ।
नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा पनि फिल्मले दर्शकको उल्लेखनीय साथ पाइरहेको निर्माता अधिकारीको भनाइ छ । उनका अनुसार देशभर फिल्मको व्यापार सुखद गतिमा अगाडि बढिरहेको छ र बलियो वर्ड अफ माउथले फिल्मको प्रदर्शन झनै मजबुत बनाइरहेको छ । यद्यपि निर्माण पक्षले आधिकारिक व्यापारिक आँकडा सार्वजनिक गरेको छैन, तर फिल्मको सफलता देशभरका फिल्म हलहरूमा दर्शकको उत्साहबाट स्पष्ट देखिन्छ । मिलन तामाङ निर्देशित यस फिल्ममा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङदेल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।