धरानकै परिवेशलाई मुख्य बिषयबस्तु बनाइएको चलचित्र ‘सिटी अफ वार’ युद्दको शहरको पहिलो गीत सार्वजनिक भएको छ । रेलैमा इन्जिन बोलको गीतमा सुरक्षा सेन्चुरी र बिजय अम्बुले राईको आवाज रहेको छ । गीतको शब्द संगीत र एरेन्ज भने डिजे मेवहाँङ राईको रहेको छ । गीतको भिडियोमा टिकटक स्टार अनुप राउत र चर्चित नृतांगना मन्जु राई फिचर छन । गीतलाई गरिमा डान्स सेन्टर धरानका कोरियोग्राफरद्वय मणि कुमार लिम्बु र सानुराजा थेगिमले कोरियोग्राफी गरेकाछन । म्युजिक भिडियोमा मुख्य कलाकार जोसेफ लिम्बु र विपना लिम्बु पनि फिचर्ड छन ।
पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर र याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको सहकार्य, बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सिटी अफ वार’ को गीत सार्वजनिक संगै बिशेष प्रदर्शनको लागी पनि मिती तोकिएको छ । बिशेष प्रदर्शन चैत्र २ र ३ गते हुने चलचित्रका लेखक तथा निर्देशक बिजय सुब्बाले जानकारी दिए ।बिशेषगरी धरानका किशोर, किशोरी र युवायुवतीहरु लागुुऔषध र कुलतमा फसेपछीको अवस्थालाई चलचित्रले प्रस्तुत गरिएको सुब्बाले बताए । कुनै बेला धरानमा धेरै मात्रामा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषय समाबेश छ । धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ ।
करिव एक महिनाको छायांकन सेड्युल सकेर निर्माण सम्पन्न गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम पनि सकिएको सह- निर्देशक सुरेन्द्र भुजेलले जानकारी दिए । पहिलो दिन चैत्र २ गते चलचित्रकर्मी तथा पत्रकारहरु बिच प्रदर्शन गरिने र दोस्रो दिन चैत्र ३ गते सम्पूर्ण दर्शकहरुको लागी प्रदर्शनको तयारी रहेको भुजेलले जानकारी दिए । चलचित्र धरान १५ स्थित मेन्याङ्बो कल्याणकारी भवन भित्र प्रदर्शन हुने छ ।
करिब पौने दुई घण्टाको चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिएको छ । चलचित्रमा जोसेफ लिम्बु,रोजनी तेयोङ, तेज मेन्याङ्वो, तिरज लिम्बु ,सोमा राई, समृद्धि लिम्बु, प्रशान्त राई,नुमा नेयोङ, नबिन मेन्याङ्बो, नबिन पराजुली, सुरेन्द्र भुजेल, दिलु सुब्बा, उदय सुब्बा कुरुम्बाङ,लगायतको अभिनय रहेको चलचित्रलाई मणी कुमार लिम्बुले छायांकन गरिरहेका छन । चलचित्रको द्वन्द निर्देशन मिलन तामाङले गरेका छन ।