तराइको कथालाई लिएर एक्सन चलचित्र ‘रङ्गेली’ निर्देशन गरेका अर्जुन सुवेदीले अब पहाडी जिल्ला भोजपुरको एक गाउको कथा लाई लिएर चलचित्र ‘सोल्टिनी’ निर्देशन गर्ने भएका छन । चलचित्र पूजार सार्की बाट उदाएकी परिक्षा लिम्बु र चर्चित गायक तथा कलाकार प्रकाश सपुतको मुख्य भूमिका रहने ‘सोल्टीनी’ ले भोजपुरको एक गाउको पोखरेल थरका भिमसेन पोखरेल(प्रकाश सपुत ) र राई थरकी दिलाशा राई ( परिक्षा लिम्बु) बिचको अन्तरजातीय प्रेम कथालाई पर्दा उतार्ने तयारी भएको सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोले प्रस्ट पारेको छ ।
जातीय भेदभाव र अपुरो प्रेमको संवेदनशील कथा उठान गरिने चलचित्रमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।” यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।
सार्वजनिक भिडियोमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।” यो संवादले धेरै दर्शकहरुको ध्यान खिच्ने प्रस्ट छ । यसै गरी प्रकाशकै जोडी अर्थात अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै बोलेको संवाद “सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।
”यी संवादले यस चलचित्रमा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ ।चलचित्र निर्माण घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको चलचित्रलाई प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलिरहेको छ ।