बर्ष २०८१ को पुर्वसन्ध्यामा प्रदर्शनमा आएको बासुरी फिल्म्सको ‘डिग्री माइला’ ले पहिलो हप्तामा रु ५ करोडमाथि ग्रस व्यापार गरेको निर्माण पक्षको दावी छ । प्रदर्शन को दोस्रो हप्तामा प्रबेश गरे संगै शुक्रबार निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा एकहप्ते ग्रस कलेक्सनको बारेमा जानकारी दिएको हो । फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख कमाएको छ ।निर्माता पोखरेलले फिल्मको ओपनिङ र त्यसपछिको व्यापार अपेक्षा गरेअनुरुप नभएको स्वीकार गरे । उनले भने, ‘ओपनिङ हामीले सोचेअनुसार भएन । दोस्रो दिन (नयाँ वर्ष) एकदमै राम्रो भयो । ‘कबड्डी ४’ र ‘जारी’को बुकिङ एकदमै राम्रो भएकाले हामीलाई बानी परिसकेको रहेछ । त्यसैले हामीले अपेक्षा धेरै गरेछौं । तर, हामीले जे-जे अपेक्षा गर्छौं, त्यही हुनुपर्छ भन्ने पनि छैन । अपेक्षा त ठूलो राख्न पाइयो नि (हाँस्दै) ।’
सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्। बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।फिल्मका मुख्य अभिनेता दयाहाङ राई भने व्यापारलाई अपेक्षित नै मान्छन् । काम सुरु गर्दा नै अघिल्ला फिल्मको कलेक्सनभन्दा माथि पुग्ने अपेक्षा नराखेको उनको तर्क थियो । ‘म व्यापारलाई अपेक्षित नै मान्छु,’ उनी भन्छन्, ‘हामीले काम सुरु गर्दा एक किसिमको प्रेसर थियो । हामीले यसअघि गरेको फिल्मका कारण दर्शकमा अपेक्षा हुन्छ नै । त्यो अपेक्षा गरेअनुसार सधैं उस्तै हुँदैन । यसमा हामीले नयाँ तरिकाले काम गर्ने भनेर सोच बनाएका थियौं । फिल्म यस्तो हुन्छ र लगानी सुरक्षित गरेर केहीमाथि जान्छ होला तर हाम्रो टिमले बनाएको विगतका फिल्मको बक्स अफिस कलेक्सनसम्म पुग्छ भन्ने चाहिँ अपेक्षा राखेका थिएनौं ।’दयाहाङले फिल्ममा काम गर्ने क्रममा शीर्षक र अन्य केही चीजको दबाब महसुस भएको अनुभव सुनाए ।