नेपाल चलचित्र संघले आगामी माघ २२ गते एक दिन देशभरका सम्पूर्ण सिनेमाहल हरु बन्द गर्ने निर्णय गरेकोछ । नेपाली चलचित्र क्षेत्रमा सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको महासचिव नरेन्द्र महर्जनद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप संघको छ । संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको मा गरेको छ । कोरोना कहरकै कारण देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको बिज्ञप्तीमा उल्लेख छ ।