नेपाली चलचित्र इतिहासमा एक पछी अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारीयर’ अब नेपालका दर्शकहरुले पनि हेर्न पाउने भएका छन । ‘गोर्खा वारियर’ ले बेलायतको, सिनेवर्ल्डमा प्रिमियर, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले फिल्म सफलताको लागी शुभकामना संदेश पठाउनु, पहिलोपटक ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलोचरणमा प्रवेश लगायतले चर्चामा रहेको नेपाली फिल्म ‘गोर्खा वारियर’ नेपालमा फागुन ११ मा प्रदर्शन हुने भएको छ । फिल्मको ट्रेलर भने रिलिज हुनु भन्दा एक महिना अगाडी अर्थात यही माघ ११ गते हुनेभएको छ । दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यू गरेका छन् । चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ । फिल्म नेपाली, हिन्दी, अङ्ग्रेजी भाषामा निर्माण भएको यो चलचित्रको कोरियन भाषामा डबिङको काम भइरहेको बताइएको छ ।
निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेले लेखेको फिल्मलाई मिलन चाम्स, सुमन राई र सुस्मिता वाइबाले लगानी गरेकाछन । फिल्मलाई सुदिप बरालले खिचेका छन भने मिलन श्रेष्ठको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेश पायल राईको गायन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ । यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।निर्देशक चाम्सका अनुसार भारत र दक्षिण कोरियाका लागि चलचित्र बिक्री भइसकेको छ । उनले अमेरिकाको एक कम्पनीले चलचित्रलाई भारत र कोरियापछि विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा रहेको बताए ।