चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागिरहेको नेफ्टा अवार्डको ११ औ संस्करण अगामी जेठ १३ अर्थात मे २७ मा अमेरिकाको टेक्सासमा हुने भएकोछ । बिहीवार सोल्टी होटल काठमाण्डौमा एक समारोह बिच संघले नेफ्टा आयोजकका पदाधिकारीलाई अवार्डको ट्रफी हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेकोछ । अवार्डको यस अघीको संस्करणहरु दुबई, मलेसिया, हङकङ र कतारमा नेफ्टा आयोजना भएको थियो । उदघाटन समारोहका प्रमुख अतिथी कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई ट्रफी हस्तान्तरण गरेका थिए । उक्त ट्रफी पुष्करले अमेरिकाको आयोजक संस्थाका प्रतिनिधी ओम आचार्य र विमल पछाईलाई हस्तान्तरण गरेका थिए ।
ट्रफी ग्रहण गर्दै आयोजक संस्था यूएस खबरका सम्पादक ओम आचार्यले नेपाली चलचित्रको विकास र विस्तारमा सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएको प्रतिकृया दिए । हलिउड र बलिउडसँग पनि सहकार्य गर्दै नेपाली संकृतिको विकासमा यो अवार्डले भूमिका खेल्ने अवार्ड आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले दावी गरे । नेफ्टाले यसपटक यो बर्ष रिलिज भएका चलचित्रलाई ४२ वटा विधामा राखेर प्रतिस्पर्धा हुने बताएको छ । कार्यक्रमलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी , निर्माता संघका अध्यक्ष नवल खडका , लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा कलाकार र संचारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो ।