अगामी मङ्सिर ४ गते हुने चुनावी सभाको अन्तिम दिन बिहीबार धरानमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको संयुक्त आयोजना भएको आम सभामा सुनसरी क्षेत्र नम्बर १ का हजारौंको जनताहरुको उपस्थिति थियो । सुनसरी क्षेत्र नं. १ मा पर्ने धरान, वराहक्षेत्र र रामधुनीका एमाले जसपाका कार्यकर्ता र शुभचिन्तकहरु आफ्ना पार्टीका नेताका प्रतिबद्धता र एजेण्डा सुन्न भेला भएका थिए । नेकपा एमाले र जनता समाजवादी पार्टीले साझा प्रतिबद्धता र विषयगत प्रतिबद्धता समेटिएको प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको छ । एमाले जसपा समीकरणले साझा प्रतिबद्धताहरुमा १४ बुँदामा प्रस्तावित ठूला परियोजना, जसले सुनसरी क्षेत्र नं. १ को मुहार फेर्ने अपेक्षाका साथ प्रतिबद्धता प्रस्तुत गरेको छ ।सभालाई सम्बोधन गर्दै एमाले र जसपाबाट सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफुलाई जिताएर पठाए ५ बर्षसम्म मतदाताहरुलाई पश्चाताम हुन नदिने बताएका छन् । राईले सयौं पटक सोचेर मात्र मतदान गर्न पनि आग्रह गरे । चुनावमा भोट हाल्नु भनेको आफ्नो प्रतिनिधि छान्नु अथवा वारेस दिनु भएकोले सोचेर मात्र मतदान गर्न उनको आग्रह थियो ।
राईले धरान खेलग्राम, निर्माणाधीन स्मार्ट बसपार्क, धरान १७ स्थित सप्तरंगी पार्क, शिवजट्टाको सौन्दर्यीकरण र पर्यटकीय पूर्वाधार विकास, किरातकालीन विजयपुर दरबारको पुनर्निर्माण, धरान ६ मा औद्योगिक ग्राम, स्टल र हाउस, विष्णुपादुका, बराहक्षेत्र, विजयपुर क्षेत्रमा धार्मिक तथा पर्यटकीय पूर्वाधार विकास, धरान २० मा कोका खोला ड्याम, धरान ४ हर्दियामा मनमोहन पार्क, धरान २० मा तारेभिर रक क्लाइम्बिङ, केबरकार, वृहत बराहक्षेत्र, विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, चतरा र रामधुनीलाई समेटेर वृहत धार्मिक सर्किट निर्माण गर्ने ठूला परियोजना अघि सारेको बताए । सभालाई सांसद जयकुमार राई ,सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार राई , सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश सभा उम्मेदवार रमेश बस्नेत साथै वुद्धिजीवि एवम् राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर टंक न्यौपानेले सम्बोधन गरेकाथिए ।