कोशी प्रदेशले छैटौँ मुख्यमन्त्री पाएको छ । छैटौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस पार्टीभित्र विद्रोह गरेका केदार कार्की रहेकाछन । माओवादीसँगको गठबन्धन गरेर मोरङको क्षेत्र नम्बर ६ (२) बाट कांग्रेसको तर्फबाट सांसद बनेका कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बन्न सफल भएका छन । मोरङ बुढीगंगाका ५० वर्षे केदार कार्की कोशी प्रदेशको व्यक्तिका रुपमा छैटौँ मुख्यमन्त्री बनेका हुन । यस अघी शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । अघिल्लो कार्यकालमा नेकपा विभाजनपछि बनेको गठबन्धनबाट उनी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए । मन्त्री बन्नुअगाडि उनी कांग्रेसका कोशी प्रदेशसभाका प्रमुख सचेतक थिए ।उनको शपथग्रहण आइतबारका लागि राखिएको छ ।
दुई दुई पटक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस संसदीय दलका नेता थापाले विश्वासको मत लिन नसकिरहेको बेला कार्कीले भने एमालेको समर्थनमा ४७ सांसदको समर्थन पाएका छन् । कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । पार्टीबाट निर्वाचित कार्की सांसद मुख्यमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बेन्चमा बस्छ या सत्तापक्षमा यो पनि चासोको विषय बनिसकेको छ । सिट सङ्ख्याका हिसाबले कमजोर रहे पनि गठबन्धनका सहयात्री दलहरू माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपालाई उनले कसरी विश्वासमा लिने चुनौती कार्कीमा रहेको छ ।