चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको नयाँ कार्यालय उद्घाटन भएको छ। बुधबार ईटहरीमा आयोजित एक कार्यक्रमका बीच नेपाली चलचित्र ‘मालती मंगले’ को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन ।उद्घाटन कार्यक्रममा कलाकारहरू विजय बराल, वर्षा राउत, रामकृष्ण ढकाल, मेक्सम गौडेल तथा गायिका सलिना बिक लगायतको सहभागिता रहेको थियो। उनीहरूले संयुक्त रूपमा बोर्डको ब्यानर अनावरण गर्दै कार्यालय उद्घाटन गरेका थिए।

नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठ को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय इटहरीको पश्चिम लाइन, ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको छ ।कार्यक्रममा बोल्दै गायक तथा निर्माता रामकृष्ण ढकाल ले चलचित्रकर्मी र चलचित्र पत्रकारबीचको सम्बन्ध नङ र मासुजस्तै नजिकको रहेको बताए। उनले शाखाको आफ्नै कार्यालय स्थापना हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

कलाकार विजय बराल ले कार्यालयलाई चलचित्रकर्मीहरूबीच भेटघाट गर्ने “जक्सन” का रूपमा विकास हुने विश्वास व्यक्त गरे। त्यस्तै, नायिका वर्षा राउत ले पूर्व आउँदा अपनत्व महसुस हुने बताउँदै कार्यालय स्थापना गरेकोमा पत्रकारहरूलाई बधाई दिइन्।कार्यक्रममा संघका पूर्व उपाध्यक्ष जीवन पराजुली ले मोफसलका पत्रकारहरूको एकता प्रशंसनीय रहेको बताए। उनले सुनसरी शाखाको एकतालाई अन्य शाखाहरूका लागि उदाहरणीय रहेको उल्लेख गरे।त्यसैगरी, केन्द्रीय सदस्य नरेन्द्र बस्नेत ले कोशी प्रदेशका पाँच शाखामध्ये सुनसरी शाखाको आफ्नै कार्यालय हुनु गर्वको विषय भएको बताए।
कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष सुवास संकल्प श्रेष्ठ ले आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता कार्यालय स्थापना रहेको बताउँदै उक्त लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे। उनले सुनसरीलाई चलचित्रकर्मीहरूको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको र त्यसका लागि सबैको साथ आवश्यक रहने बताए।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।