भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए ।मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएस्को हो । प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो ।कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन लगायतका गायक–गायिकाले राम भजन गाएका थिए ।
अयोध्यामा निर्माण भएको राम मन्दिरको डिजाइन सन् १९९८ मै तयार भएको थियो । यसलाई अहमदाबादस्थित सोमपुरा परिवारले डिजाइन गरेको हो । यद्यपि भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा सोमपुरा परिवारले नै यसमा केही परिमार्जन गरेको थियो । अयोध्यामा भारतका विभिन्न राज्यबाट वाद्ययन्त्र लगिएको छ । उत्तर प्रदेशबाट बाँसुरी र ढोलक, ओडिशाबाट मर्दल, कर्नाटकबाट वीणा, मध्यप्रदेशबाट सन्तूर, पञ्जावबाट अलगोजा, मणिपुरबाट पुङ्ग, महाराष्ट्रबाट सुन्दरी, असमबाट नगाडा, दिल्लीबाट सहनाई, राजस्थानबाट रावणहत्था, बिहारबाट पखावज, गुजरातबाट सन्तार र पश्चिम बंगालबाट श्रीखोल लगिएको छ ।