कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिकमतकुमार कार्कीले फुटबलको विकासको लागि एन्फा एकेडेमी धरानलाई सहयोग गर्ने बताएका छ्न ।शनिबार कोशी प्रदेश फुटबल सङ्घ सङ्घद्धारा सञ्चालित एन्फा एकेडेमी धरानका खेलाडीहरूलाई फुटबल सामाग्री प्रदान गर्दै मुख्यमन्त्री कार्कीले फुटबलको विकासका लागि सहयोग गर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने, ‘प्रस्ताव तयार लिएर आउनुहोस सरकारले सहयोग गर्छ ।’ चालु आर्थिक वर्षमा खेल क्षेत्रमा न्युन बजेट विनियोजन भएको बताउँदै भने, ‘आगामी आर्थिक वर्षदेखि बजेटमा नै व्यवस्था गर्छौ ।’ एन्फाका बरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटलब सङ्घका अध्यक्ष किशोर राईले एकेडेमी सञ्चालनमा वार्षिक १ करोड १० लाख रुपैयाँ आवश्यक रहेको बताए । उनले एन्फाले २६ लाख रुपैयाँ मात्र दिने र अन्य बजेटको सुनिस्चितता नहुँदा एकेडमी सञ्चालनमा कठिनाई उत्पन्न भइरहेको बताए ।
एकेडेमीमा ३२ जना बालकहरू प्रशिक्षणमा छन् । अध्यक्ष राईले आफू आगामि एक दशकमा विश्व फुटबलमा नेपाललाई उभ्याउने लक्ष्यसहित अघि बढेको तर बजेटको अभावले नै समस्या भइरहेको बताए । त्यसपश्चात मुख्यमन्त्री कार्कीले एकेडेमी सञ्चालनका लागि १० वर्षे सम्झौता गरेर नै सहयोग गर्ने बताउँदै भने, ‘वल्र्डकप खेल्न जाने योजनासहितको प्रस्ताव लिएर आउनुहोस सहयोग गर्छो ।’ उनले धरानको एकेडेमीलाई कोशी प्रदेशमा एक उच्च स्तरको एकेडेमीको रुपमा विकास गर्न लागि पर्ने बताए । मुख्यमन्त्री कार्कीले भने, ‘भौतिक संरचना निर्माण गर्न सहज छ ।एक पटक गरे हुन्छ । एकेडेमी सञ्चालन गर्न गाह्रो छ । त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ । बजेटको प्रबन्ध गर्ने जिम्मेवारी कोशी सरकारको हुन्छ । आगामि वर्षदेखिदेखि बजेटमा नै व्यवस्थापन गर्छौ ।’ कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, विजय कुमार राईलगायतको उपस्थिति रहेको थियो ।