केही बर्ष यता नेपालमा बिदेश पढ्न जाने मोह बाध्यता मात्रा नभएर फेशनकै रुपमा मौलाइरहेको छ । बिदेश पढ्न जाने आफ्नो औकातले पुगोस नपुगोस कही कतै रिन काडेर जग्गा धितो राखेर अनेक गरेर युवा युवतीहरु बिदेश पढ्न जाने गरेका छन । बढ्दो राजनीतिक वितृष्णा र देशमा आफ्नो भविष्य सुनिश्चित नदेखिए पछि युवाहरूले देश छाड्न बाध्य भएको पनि देखिन्छ । यसैबिच युवाहरूको विदेश मोहका कारण नेपालमा वृद्ध वृद्धा आमाबुवाले भोग्नुपरेको पिडालाई चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानले म्युजिक भिडियो ‘गाह्रो भयो बुढ्यौली जीवन’ मा गज्जबले प्रस्तुत गरेकाछन । कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोसी प्रदेशका विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङले नेपाली परिवेशको वर्तमान अवस्थालाई भिडियोले जस्ताको तस्तै प्रस्तुत गरेको उल्लेख गरिन् ।नेपाल सम्भावनाको खानी रहेको उल्लेख गर्दै राज्य मन्त्री गुरुङले युवाहरूको विदेश मोहका कारण उत्पन्न परिस्थितलाई सामान्यरुपमा लिन नहुने बताइन् । शिक्षाविद् लेखनाथ घिमिरेले लोक भनेको जनता रहेको उल्लेख गर्दै गीतले जनताको मन भित्रको पिडा वकालत गर्न सफल रहेको उल्लेख गरे ।
निर्देशक प्रधानले नेपालको पछिल्लो समयको परिस्थितिलाई नियाल्दा अब सासले मात्र नभएर विदेशमा रहेको आफ्नो सन्तान आगमनका लागि लासले समेत पर्खिनुपर्ने अवस्थाको सृजना भएको उल्लेख गर्दै म्युजिक भिडियोमा सोही कथनलाई प्रस्तुत गरिएको उल्लेख गरे । लोक तथा दोहोरी गायक बालकृष्ण सिग्देलको शब्द सङ्गीत तथा स्वर रहेको ‘गाह्रो भयो बुढ्यौली जीवन’ लाई सिग्देलले आफु अस्ट्रेलिया जादा त्यहा रहदा यो सिर्जना फुरेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली आमा बुवाहरुको वास्तविक जीवन घटनाबाट प्रेरित भएर आफुले यो शब्द कोरेको सुनाए । म्युजिक भिडियोको छायाङ्कन सुमन तामाङ,सम्पादन हेमन तामाङले गरेका हुन् । भिडियोमा दिनेश कोइराला,उमा कार्की,किशोर थापा र नारायण भण्डारीले जीवनत अभिनय गरेकाछन ।