यही जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ले प्रदर्शन अगावै मोफसलका ४ वटा शहरहरुमा ग्राण्ड प्रिमियर शो गर्ने भएको छ । निर्माण टिमका अनुसार पहिलो प्रीमियर शो पोखराबाट हुरु हुने भएको छ । पोखरामा यही जेठ २६ गते सोमबार पोखरा स्थित क्फ्क्स ट्रेड मल मा साझ ६ बजे, फ्रेण्ड्स सिनेमाज बुटवलमा २७ गते मंगलबार साझ ६ बजे , सेन्ट्रल मल बिराटनगरमा जेठ २९ गते बिहीवार दिउसो १ बजे र धरान स्थित फ्रेण्ड्स सिनेमाजमा पनी सोहि दिन जेठ २९ गते बिहीवार साझ ६:३० बजे ग्राण्ड रेडकार्पेट प्रिमियर हुने बितरक कम्पनी कुबेर सिने डिस्ट्रीव्युटर्सका पुस्कर घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पोखरा प्रिमियरका लागी कलाकार सहित निर्माण टिम पोखरा पुगिसकेको छ भने हरेक ठाउको प्रिमियरमा कलाकारहरुको उपस्थित रहने छ ।
गत जेठ १४ गते ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन साँझ काठमाडौंमा सम्पन्न भैसकेको छ । । विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो ।प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ ।
निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ । चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल चलचित्रको मूल कथा बन्छ । साथमा, यस चलचित्रले हास्यपरक रूपमा चलचित्रका पात्रहरूलाई पनि प्रयोग गरी चलचित्रलाई मनोरञ्जक समेत बनाइएको छ ।