हास्य टेली श्रृङखला ‘सक्किगोनी’ टिमद्वारा निर्माण हुन लागेको चलचित्र ‘लाज शरणम’ को काम यतीबेला धमाधम भैरहेको छ । टिम यतिबेला कलाकार छनोट र प्रि–प्रोडक्सनको काममा व्यस्त छ । प्रि–प्रोडक्सनको काम संगै टिमले एकपछि अर्को कलाकारको प्रवेश चलचित्रमा धमाधम भैरहेको छ । चलचित्रमा धेरै जसो कलाकारहरु टेलिसिरियल ‘सक्किगोनि’ का कलाकार नै रहने प्रस्ट छ । ‘सक्किगोनि’ टिमका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जेग्री’ को जन्मदिनको अवसर पारेर गत श्रावणमा चलचित्र ‘लाज शरणम्’को औपचारिक निर्माण घोषणा गरिएको थियो ।
घोषणा कार्यक्रममा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो । आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए । बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो । त्यससँगै सिनेमामा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ । अहिलेसम्म सिनेमामा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश दवाडी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।
यसैबीच सिनेमामा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन् । निर्माण टिमले बिहीबार सिनेमा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रुपमा रहेका छन् । सिनेमामा जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले सिनेमाको लेखन तथा निर्देशन गर्नेछन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।सुदीप बरालको छायांकन रहने सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणी नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भुमिका रहनेछ । यही वर्षको फागुन १४ अर्थात् महाशिवरात्रीको अवसर पारेर सिनेमा प्रदर्शन ल्याउने तयार लाज शरणम् टिमको छ ।