नेपालमा हुने वार्षिक अन्तर्राष्ट्रिय क्लब स्तरको नकआउट फुटबल प्रतियोगीताहरु मध्ये पुरानो अनी सबैभन्दा उत्कृष्ट मानिएको बुढासुब्बा गोल्डकप को २४ औ संस्करण यही फागुन २६ गतेबाट सुरु हुँदैछ । प्रतियोगीता यही आउने फागुन २६ गतेदेखी चैत्र ३ गते सम्म आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । सोही तयारीको लागी धरान फुटबल क्लब यतिखेर जुटेको छ । यतिखेर प्रतियोगीता आयोजना हुने धरान रङ्गशाला सरसफाइको काम भैरहेको छ । सरसफाइ हप्ताको दुई दिन अर्थात सोमबार र बुधवार गरिदै आएको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तमाङले जानकारी दिए । सरसफाइ कार्यमा धरान फुटबल क्लब, धरान भेट्रान क्लब, हाम्रो भेट्रान क्लबको सहभागीता रहेको छ । हरेक बुधवार सरसफाइ गरिदै आएकोमा अब बुढासुब्बा गोल्डकप नजिकिदै गएकोले हप्तामा दुइपटक सरसफाइ गर्न थालइेको अध्यक्ष तामाङले बताए । सोमबार को सरसफाइमा लगभग ३० जना खेलप्रेमी तथा भेट्रान खेलाडीहरु सहभागी भएका थिए । गोल्डकपको तयारी तिव्र छ । यही तयारी स्वरुप आउने शुक्रबार सुरक्षा बैठक पनि बस्ने अध्यक्ष तामाङले जानकारी दिए । खेलाडी र दर्शकलाई सुरक्षित महशुस गराउन बैठक बस्ने तयारी भएको तमाङको भनाइ छ ।
७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च गरेर आयोजना हुने प्रतियोगीतामा लिग च्याम्पियन चर्च ब्वाईज, थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटि काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसि ले प्रतिस्पर्धा गर्ने क्लबका महासचिव नबिन राईले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।