नेपाल कुराँश संघको आयोजनामा जेठ २८ गते धरानमा सम्पन्न पुरूष तथा महिला दुवै तर्फ जुनियर र सिनियर गरी कुल ४ विधामा भएको दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन बनेकोछ । सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित लुम्बिनी च्याम्पियन भएको हो । यसैगरी विभागीय टोली नेपाली सेना दोस्रो भयो । ४ स्वर्ण र ३ रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ४ कास्य पदक जित्दै तेस्रो भयो । प्रतियोगितामा महिलातर्फ लुम्बिनीकी प्रतीक्षा केसी र पुरुषतर्फ गण्डकीका सुजित पासवान उत्कृष्ट खेलाडी घोषित भए ।
धरान उपमहानगरपालिकाका उप मेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेकाे प्रतियोगिताका विजेतालाई कोशी प्रदेशका पूर्वमुख्य मन्त्री राजेन्द्र राई र कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले पुरस्कृत गरेका थिए । समापनमा नेपाल कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, अन्तर्राष्ट्रिय कुराँश महासंघका टेक्निकल डाइरेक्टर रवि कपुर, संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक जीवन राईलगायतकोसंघ उपस्थिति थियो । प्रतियोगितामा सेना तथा ६ प्रदेशका १ सय ५१ खेलाडीले ३१ स्वर्ण , ३१ रजत र ६२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । जेठ २७ र २८ गतेसम्म सञ्चालित प्रतियोगितामा पुरूष तथा महिला दुवै तर्फ जुनियर र सिनियर गरी कुल ४ विधामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक जीवन राईले बताए।