दोश्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खालीहरुको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ । आईतवार धरानमा पत्रकार सम्मेलन गरी गोर्खा सिमेट्री ट्रष्ट नेपालको आयोजनामा यही चैत ४ गते धरानमा ‘गोर्खा ट्रेल ब्लेजर नेपाल २०२३’ दौड प्रतियोगिता हुने ट्रस्टका अध्यक्ष महेन्द्र कुमार राईले जानकारी दिए । तीन वर्षअघि नै यो कार्यक्रम गर्ने योजना भएपनी कोरोना महामारीका कारण अन्तिम अवस्थामा स्थगित गर्नु परेको राईले जानकारी दिए । दौड धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्क सम्म जम्मा ८ किलोमिटरको हुने आयोजकले जनाएकोछ । दौडमा सहभागी महिला र पुरुष अन्तर्गत प्रथम, द्वितीय, तृतिय, र चतुर्थ हुने बिजेताले क्रमश : १५ ,१० ,५ र ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन ।
सोही दिन दोश्रो विश्वयुद्धमा सहभागी भएर फर्केका तीन जनालाई सम्मान गरिने अध्यक्ष राईले बताए । उनकाअनुसार दोश्रो विश्वयुद्धका जिवित साक्षी आर्मी नम्बर १० गोर्खा राइफल २११४१५४६ भएका ओखलढुङ्गाका १०२ वर्षिय धनसिंह राई, १० गोर्खा राइफल १०९२१४–४ भएका तेह्रथुम घर भई हाल धरान–११ बस्दै आएका १०१ वर्षिय धनदल लिम्बु र १ गोर्खा राइफल आइए १५९२१ भएका संखुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षिय मान बहादुर लिम्बु रहेका छन् ।