नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रपति पदको तेस्रो निर्वाचनको लागी आज मनोनयन दर्ता हुने भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार बिहान मनोनयन दर्ता हुनेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेभित्र उम्मेदवारी दर्ता हुने जनाएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिबार प्रकाशन गरिने जानकारी दिए । राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार सङ्घीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रपति पदमा उम्मेदवारी दिन पाउनेछन् । तर निर्वाचित र मनोनयनद्वारा पूर्ति हुने पदमा बहाल रहेका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।