गोर्खा पिस फाउण्डेशन युके र हर्क साम्पाङ सपोर्ट कमिटि युकेको आर्थिक सहयोगमा धरान निशाने खोला दोभानमा निर्माण भएको भएको पानीट्याङ्की निर्माण कार्य शुरु भएको ४ महिनामा धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । बिहिबार २ लाख ३७ हजार लिटरको क्षमता भएको नव निर्मीत पानीट्यांकी मेयर हर्क साम्पाङलाई ट्यांकीको कागजपत्र र चाबी हस्तान्तरण गरेर बिधिवतरुपमा खानेपानी बोर्डलाई हस्तान्तरण गरेको हो । निर्माण कमिटीका अनुसार कुल ८९ लाख ४२ हजार ६१२ रुपैयामा ट्यांकी निर्माण सम्पन्न भएको हो ।
गोर्खा पिस फाउण्डेशनकोतर्फबाट ३४ लाख २२ हजार २२३ रुपैया , मेयर हर्क साम्पाङ सपोर्ट कमिटीबाट ५८ लाख ७२ हजार १३६ रुपैया र उपमहानगरपालिकातर्फबाट श्रमदानमार्फत ९ लाख २० हजार २९० रुपैया सहयोग प्राप्त भएको निर्माण कमिटीका सचिव डिबि लिम्बुले जानकारी दिए । लिम्बुका अनुसार अब १२ लाख ७२ हजार रुपैया बचत रहेको छ । ट्यांकी निर्माण शुरु भएको ४ महिनामा हस्तान्तरण भएपनि ६२ दिनमा नै ट्यांकी निर्माण भएर पानी वितरणको काम शुरु भएको थियो । पानी फिल्टर गर्न सेन्ट पिट पनि निर्माण गर्नुपर्दा तोकिएको समयभन्दा केही ढिला भएको गोर्खा वेलफेयर अफिसर पुर्ण लिम्बुले जानकारी दिए ।