धरान २० को कोकाहा खोलाबाट पानी ल्याएर धरानका जनतालाई खुवाउने उद्देश्यले सुरु भएको कोकाह खानेपानी सहयोगार्थ साङगितिक कार्यक्रमको दोस्रो भाग यही चैत्र २९ गते हुने भएको छ । समाजसेवी तथा गीतकार मिना सिङगकको संयोजकत्वमा हुँदै आएको कार्यक्रमको निरन्तरता दिदै पुन आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइयो । गत पहिलो भागमा जस्तै यो बर्ष पनि नेपालका चर्चित गायक गायिका, नायक नायिकाले प्रस्तुती दिने कार्यक्रम संयोजक सिङगकले जानकारी गराइन । पहिलो भाग २०७९ चैत्र २५ गते आयोजना भएको थियो ।
कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, नायिका स्वस्तिमा खडका, धीरज राई, पदम राई ,सुनित थेगिम,प्रदेश लिम्बु, केहर एण्ड ज्योय , मेयर हर्क साम्पाङ , अन्नु चौधरी, द आउट साइडर ब्याण्ड र फुलन्देको आमा उमेश राईले प्रस्तुती दिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस बर्षको कन्सर्ट चैत्र २९ गते , धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा हुने आयोजकले जानकारी दिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा श्रमदान अभियानमार्फत कोकाहको पानी ल्याउने अभियानको लागी आयोजना गरिदै आएको कन्सर्टको व्यवस्थापन सिल्भर इन्टरटेन्मेन्ट धरानले गरेको छ ।
धरान कला र कलाकारहरुको सहर भएकोले यहाँ धेरै कन्सर्टहरु भइरहे पनि यो कन्सर्ट भने अन्य कन्सर्टहरुभन्दा धेरै फरक भएको आयोजकको दावी छ । ‘यो कन्सर्ट खानेपानीलाई समर्पित गरेर हुन लागेको आयोजकको दावी छ । टिकट दर साधारण रु ५००,फ्यानपिट रु ७०० , प्रिमियम रु १०००, भिआइपी रु ३००० र डोनेशन रु ७५०० रहेको छ । कन्सर्ट को लागी बिशेष सहयोगी हरुमा स्वतन्त्र नागरिक समाज धरान, सचेत धराने समुह, स्वतन्त्र दिदी बहिनी धरान र गोर्खा चौतारी रहेको छ ।