उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले धरानमा आयोजना भएको जस्तो एक्स्पो हरुले व्यापारिक प्रदर्शनीले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने बताए। बिहीवारबाट धरानन्मा सुरु भएको धरान एक्स्पो -२०८१ को उद्द्घाटन गर्दै उनले यस्तो बताएका हुन । “यस्ता आयोजनाले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै देशको समग्र समृद्धिमा योगदान पुर्याउँछ। आयोजकको यो प्रयासले धरानलाई अझ ठूलो आर्थिक केन्द्रको रूपमा स्थापित गर्न सघाउने विश्वास लिएको छु,” उनले थपे।
धरान एक्स्पो–२०८१ धरान रंगशाला परिसरमा भैरहेको छ । उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थायित्वकै कारण प्रमुख दल नेपाली कांग्रेस र एमालेले सरकार गठन गरेको स्पष्ट पारे। उनले भने, “राजनीतिक स्थायित्वले निजी क्षेत्रलाई आर्थिक गतिविधि विस्तार गर्न सहज वातावरण सिर्जना गर्छ। यो एक्स्पो जस्तो कार्यक्रमले त्यसमा थप टेवा पुर्याउँछ।”
सिंहले मुलुकभर समस्या रहेको उल्लेख गर्दै त्यसको समाधानमा जनप्रतिनिधिहरूले ध्यान दिनुपर्नेमा जोड दिए। “समस्यालाई देखाएर आत्तिने होइन, समाधानका लागि दृढतापूर्वक अघि बढ्न जरुरी छ,” उनले भने।उद्घाटन समारोहमा प्रदेश मन्त्री सदानन्द मण्डल, प्रदेश सभा सदस्य यशोदा कायस्थ, विजय राई, धरानका उपमेयर आईन्द्रबिक्रम बेघा, पूर्व मेयर तिलक राईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।स्टलहरूमा स्थानीय उत्पादनदेखि पर्यटन, स्वास्थ्य, कृषि, स्वरोजगारसम्बन्धी विषयवस्तु समेटिएको छ भने साहित्य र वित्तीय क्षेत्रका स्टलहरूले पनि आकर्षण थपेका छन्।
कार्यक्रमका बीच गोष्ठी, प्रशिक्षण, र विभिन्न सांस्कृतिक गतिविधिहरू हुने जानकारी आयोजकले दिएका छन्। धरान एक्स्पो–२०८१, सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पुष २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुनेछ। १४२ स्टल रहेका एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका स्थानीय व्यवसायीहरू सहभागी छन्। आयोजकले १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेका छन्।