आजबाट धरानमा पनि ट्राफिक सप्ताह सुरु भएको छ । बिहीवार धरानमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले सप्ताहको उद्घाटन गरेको कार्यक्रममा ट्राफिक प्रहरी सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनी आफ्नो ब्यानर सहित प्रभातफेरीमा सहभागी थिए । धरान स्थित सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरीले बजार परिक्रमा गर्यो । भानुचोकबाट छाताचोक, सिंहदेवी चोक, पुरानो बजार हुँदै देशीलाइन सिद्धि नेवा: परिषदमा ट्राफिक सप्ताहको औपचारिक उद्घाटन भएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको छ ।कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरु संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ । अभियानले सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा र ट्राफिक नियम पालनासम्बन्धी सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुवास केसीले जानकारी दिए ।
सप्ताहलाई यात्रु, चालक र प्रहरीबिचको सम्बन्धलाई नजिक बनाउने, समुदाय–विद्यालय साझेदार कार्यक्रम सञ्चालन, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिएको छ ।ट्राफिक सप्ताह अन्तर्गत लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्ने नियमको कार्यान्वयनको अनुगमन गर्ने, सवारी साधनमा सचेतनामूलक स्टिकर टाँस गर्ने, सर्वसाधारण र सरोकारवालालाई ट्राफिक सचेतना फैलाउने, पर्चा वितरण गर्ने, माइकिङ गर्ने, सवारी साधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोगसम्बन्धी चालक यात्रु र सर्वसाधारणलाई प्रशिक्षण गर्ने कार्यक्रम तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।