धरान उपमहानगरपालिकामा सुर्तिजन्य पदार्थ हरु खैनी, चुरोट, गुटखा, पान पराग, बिडी हरु बिक्री बितरण गर्न प्रतिबन्ध गरेको छ । शुक्रबार उपमहानगरपालिकाले सुचना जारी गर्दै आमसर्वसाधारणलाई जानकारी दिएको छ । गएको पुष २९ गतेको कार्यपालिका बैठकले सुर्तिजन्य पदार्थ भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । उक्त्त निर्णय लाई कार्यन्वयन गराउने उद्देश्यले सुचना प्रकाशित गरेर धरान नगर क्षेत्रका सार्वजनिक स्थानहरुमा पुर्णरुपमा सुर्तिजन्य वस्तु भण्डारण, किनबेच र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । नगर क्षेत्रका सार्वजनिक स्थलहरु (पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल) लगायत सार्वजनिक स्थानहरुमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्क्ट, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाइएको जारी सुचनामा उल्लेख छ ।
कसैले यो सूचनाको अवज्ञा गरी विक्री वितरण तथा भण्डार गरेको पाईएमा नगर प्रहरी मार्फत जफत गरी कानून बमोजिम जरिवाना गरिने व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।सुर्तीजन्य पदार्थको विक्रिवितरण र उपयोगबाट जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तीजन्य पदार्थको कारण पर्यावरण प्रदुषित हुने, फोहोर मैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने भएकोले बिक्री बितरण र प्रयोग नगर्न आग्रह गरिएको छ ।