धरान । धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविर मार्फत बुधबार र बिहिबार गरि ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुनुभएकोछ । कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नविकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियान अन्तर्गत बुधबार २४ जना र बिहिबार ३६ जना गरि ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएकाहुन् । बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नविकरण गरि जम्मा २४ जना र बिहिबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेकाहुन् भने १५ जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएकाहुन् । शिविरमा आएका अधिकांश यातायात मजदुरहरुले सडकमा समस्याहरु संगठनका नेतृत्वलाई सुनाउँदै समाधानका लागि प्रयत्न गरिदिन अनुरोध गरेकाछन् ।
अभियानमा मजदुरहरुको समस्या सुन्न पहिलो दिन बुधबार भानुचोक बसपार्क भएको वडा नम्बर २ का वडा अध्यक्ष रमेश राई र दोस्रो दिन बिहिबार धरान उपमहानगरपालिकाका पूर्व उपमेयर तथा नेकपा (एमाले) केन्द्रीय सदस्य मन्जु भण्डारी, यातायात व्यवसायी राजमणी निरौला र समाजसेवी नारायण सुवेदी बसपार्कस्थित शिविरमा मजदुरहरुमाझ उपस्थित हुनुभएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सबै श्रमिकहरुको गुनासाहरुलाई सुत्रबद्ध गरिने र समाधानका लागि सरोकारवालाहरुसंग छलफल गरिने बताउनुभयो । संगठन र मजदुरहरुबीचको सम्बन्धलाई बलियो बनाउन र मजदुरहरुको समस्या कार्यथलोमै बुझ्नका लागि यो अभियान सञ्चालन गरिएको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताउनुभयो । यो अभियान माघको ८ गतेसम्म सञ्चालन हुने र माघको १३ गते संगठनको १५ औं अधिवेशन सम्पन्न गरिने अध्यक्ष भट्टराईले बताउनुभयो ।