पछील्लो समय चर्चाको बिषय बनेर बिरोध हुँदै आएको धरान उपमहानगरपालिकाले लगाएको मोटर साइकल पार्किङ करको बारे आईतवारको कार्यपलिका बैठकमा निकै बहस र छलफल भएको छ । कार्यपालिका बैठकबाट पारित नै नभई ठेक्का लगाएको र जनतालाई मर्का परेकोले पार्किङ शुल्क लिन नहुने कुरालाई वडाध्यक्षहरुले दोहोर्याइ रहे । मोटरसाइकल पार्किङ शुल्कको बारेमा गत असार २५ गतेको कार्यपालिका बैठकमा प्रस्ताव आएपनी मेयरको एकल निर्णयमा भएको भन्दै वडाअध्यक्षहरुले बिरोध गरे । बिरोधको बाबजुतपनी मेयर हर्कराज राई निर्णय फिर्ता लिन नमानेपछी वडा अध्यक्षहरुले वडाको बजेट कटौती गरेर भए पनि पार्किङ शुल्क खारेज गर्न र जनतालाई राहत लिन मेयर साम्पाङलाई आग्रह गरेका थिए । वडा नं १५, वडा नं ३, वडा नं ७ का अध्यक्षहरुले बजेट कटौती गरेर भएपनि पार्किङ शुल्क खारेज गर्नुपर्ने बताए । जनताबाट धेरै आलोचना भइरहेको भन्दै उनीहरुले बरु कुनै पार्किङ गर्ने ठाउँ खोजेर व्यवस्थापन गर्न र मात्र शुल्क लिन आग्रह गरेका थिए । पार्किङ शुल्क तिरे पनि हेल्मेट वा मोटरसाइकल हराउदा जिम्मेवारी नलिने गरि ठेक्का लगाएकोमा पनि उनीहरुले असन्तुष्टी जनाएका थिए ।
वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले पनि पार्किङ शुल्कको बिषयमा नगरसभामा प्रस्ताव भएको तर अघिल्लो कार्यपालिका बैठकमा प्रस्तावकोरुपमा आएको एजेण्डा पारित नभएको बताए । उनले कार्यपालिकाको निर्णय विना कुन आधारमा ठेक्का लगाएको हो, प्रष्ट पार्नुपर्ने बताए ।मेयर साम्पाङ भने राजश्व परामर्श समितिले मस्यौदा गरेको बिषयलाई कार्यपालिका हुदै नगरसभाबाट पारित गरेको जिकिर गरे । उनले कर नीति भएकोले पछि फर्कन नसकिने पनि बताए । पहिलो पटक प्रक्षेपण गर्दा केही आलोचना भएको र भविष्यमा करेक्सन गर्ने सम्भावना पनि भएको धारणा राखे । राजश्व शाखाका खगेन्द्र खतिवडाले राजश्व परामर्श समिति र वडाअध्यक्षहरुसँग छलफल गरेर गत असार २५ गको कार्यपालिका बैठकबाट पार्किङ शुल्क लगाउने निर्णय भएको प्रष्ट पारेका छन् । कार्यपालिका बैठकमा वडा अध्यक्षहरुको प्रश्नको जवाफ दिदै उनले असार २५ गते नै नगरसभा बस्नुभन्दा अघि बिहान बसेको कार्यपालिका बैठकले आर्थिक विधेयक, विनियोजन विधेकय, राजश्वको निर्णय, ठेक्का लगाउने निर्णय सबै पास गरेको जानकारी दिए ।