आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीका काममा जुट्नुपर्ने भएकाले यो वर्ष निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले ढुक्कले दसैँ मान्न नपाउने भएका छन् । दसैँको टीकाको दिन समेत कार्यालय खुला रहनेछ भने कर्मचारीलाई टिका लगाएर पालैपालो कार्यालयमा हाजिर हुन भनिएको छ ।
निर्वाचनको तयारीको चटारोका कारण दशैंका बेलापनि आवश्यक निर्णय गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका आयुक्तहरुको टोली आयोगमा उपस्थित हुनेछन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले रातोपाटीसँग भने– ‘यसपाली दशैं विदा लिने अवस्था छैन, अष्टमीको दिनपनि निर्णय लिनुपर्ने हुन्छ । नवमीका दिन पनि पर्छ । यो ठाउँमा कार्यालय खोल्न समस्या प¥यो भनेर गुनासो आयो भने यहाँबाट निर्णय गरेर पठाउनुपर्यो । टिकाको दिन पनि कार्यालय बन्द हुँदैन । कर्मचारीलाई पालैपालो टिका लगाएर कार्यालय आउन भनेका छौँ । दशैंको टिकाको दिन पनि कार्यालय बन्द नहुने भनेर निर्णय भइसकेको छ ।’
आयोगका पदाधिकारी र कर्मचारीलाई टिका लगाउनका लागि समय पुग्ने भएपनि कार्यालय नआई घरमै बस्ने अवस्था नहुने उनले बताए । तर मतपत्र छपाइमा संलग्न गरेका कर्मचारीले भने ३ दिन बिदा पाउनेछन् । आयोगले दशैंको समयावधि भित्र पनि निर्वाचन कार्यक्रमहरुको कार्यसूची यसअघि नै तयार गरेको थियो । असोज १५ गतेदेखि १९ गते अर्थात टीकाको दिनसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको छ । यस्तै असोज २३ गतेदेखि तर्फ प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु हुनेछ । असोज १६ र १७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।