पछील्लो समय धरानमा चासोको बिषय रहेको धरान एयरपोर्टको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो देखाएकाछन । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटमा धरानको एअरपोर्टको बारेमा जानकारी,माग पत्रसहित अनुरोध गरेका थिए । भेटमा एयरपोर्ट, विपी प्रतिष्ठान, पानीपिया सेउती पुल सडक, कोशी खानेपानी परियोजनालगायतको बिषयमा मागपत्र र अनुरोध गरिएको पनि मेयर साम्पाङले बताए । प्रधानमन्त्री दाहालले धरानको मागहरुको बिषयमा प्रधानमन्त्री दाहालले केही दिनभित्रै परिणाम थाह पाउने बताए । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद्घाटन समारोहमा प्रमुख आतिथ्यको लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा पत्रसहित अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले धरान भन्ने बित्तिकै आफुलाई आउने इच्छा हुने प्रतिक्रिया दिए । तर, उक्त दिनको कार्यक्रमको तालिका अनुकुल भए आउने उनले वचन दिएका थिए ।
मेयर साम्पाङ र उपमेयर बेघाले धरानको विकास र निकासको लागि प्रधानमन्त्रीसँगको भेट ज्यादै महत्वपुर्ण भएको बताए ।मेयर साम्पाङले धरानमा एयरपोर्ट अतिआवश्यक भएको भन्दै प्रधानमन्त्रीलाई माग पत्रसहित अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले धरानको एयरपोर्टबारे २ वटा धारणा आइरहेको भन्दै धरानको एयरपोर्टकै लागि सम्बन्धित मन्त्रालय र विभागको बैठक राख्ने प्रतिवद्धता पनि जनाए ।प्रधानमन्त्री दाहालका अनुसार नजिकै विराटनगर भएकोले धरानमा किन बनाउने भन्ने एउटा मत रहेको छ । यस्तै, जाडोमा हुस्सु र बर्षामा बाढीले विराटनगर एयरपोर्ट डुबान पर्ने भएकोले धरानमा बनाउनुपर्छ भन्ने अर्को धारणा भएको पनि प्रधानमन्त्री दाहालले सुनाए ।