शिक्षक चिकित्सकहरुको आन्दोलनले केही दिन देखी प्रभावित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा सञ्चालनमा आउने भएको छ ।हिजो साँझ प्रतिष्ठानको अस्पताल प्रशासन र विभागीय प्रमुखहरुबीच भएको छलफलमा आज (बिहिबार) ओपिडी सेवा सुचारु गर्ने सहमति भएको हो । समस्याको निकास निकाल्न भन्दै काठमाण्डौं गएका उपकुलपति, रेक्टर र रजिष्ट्रार आज प्रतिष्ठान आउने सम्भावना रहेको र पदाधिकारीहरु आएपछि थप छलफल गरेर निकास निकाल्ने समझदारी भएको डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले जानकारी दिए । उनले भने,‘विभागीय प्रमुखहरुसँग छलफल गरेर आजलाई पनि ओपिडी सेवा सुचारु गर्ने समझदारी भएको छ । पदाधिकारीहरु काठमाण्डौंबाट आएपछि आजै बसेर सम्बोधन गर्ने भन्ने पनि छ ।
’शिक्षक कल्याण समाजले सोमबार विज्ञप्ती जारी गर्दै इर्मजेन्सी, आइसियुबाहेकका सम्पुर्ण कार्य बहिष्कार गर्न सबै चिकित्सकहरुलाई आह्वान गरेपछि ओपिडी सेवा पनि ठप्प हुने अवस्था भएको थियो । यो सहमति पछि भने राजिनामा दिएका शिक्षक चिकित्सकहरुबाहेक प्रोफेसर, एसआर र जेआरहरुले ओपिडी सेवा सुचारु गराउने वातावरण बनेको हो ।शिक्षक चिकित्सकहरुको आन्दोलनको कारण ओपिडी सेवा ठप्प हुने अवस्था भएपछि हिजो हिजो बिहान विरामीहरुले नै आन्दोलन गरेका थिए । विल काउन्टर नखुलेपछि घण्टौं लाइनमा उभिएका विरामी र आफन्तजनहरु अस्पताल प्रशासनमा पुगेर दबाब दिएका थिए ।