धरानका मेयर हर्कराज राइ (हर्क साम्पाङ) र उपमेयर अइन्द्र बिक्रम बेघाले अखाध बस्तु मिसावट गरी तयार पारीएको सत्र सय किलो बेसार नष्ट गरेका छन । धरान उपमहानगरपालिकाको अनुगमन टोलीले असोज २ गते धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट बरामद गरेको मिसावटयुक्त कुल १७ सय किलोग्राम बेसार बिहीबार नष्ट गरेको हो। अखाध बस्तु प्रयोग गरी बेसार तयार गरेका मिल सञ्चालकलाई जरिवाना बापत २ लाख रुपैया उपमहानगरपालिकाको राजश्वमा जम्मा गरेपछि बरामद गरिएको मिसावटयुक्त बेसार बिहीवार आज नष्ट गरिएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
बरामद गरिएको बेसारलाई धरान २० स्थित नमुना टोलमा खाल्डो खनेर अनुगमन टोलीले नष्ट गरेको हो। बाँकी ४५ बोरा बेसार भने मिलमा सिल गरेर छोडेको थियो। बिहीबार ती सबै बेसारलाई मुचुल्का उठाएर नष्ट गरिएको अनुगमन समिति संयोजक एवं उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । आफूले मिल मात्र चलाएको र व्यापारीहरुले नै खुदी, फुड कलर ल्याएर पिसाउन अनुरोध गरेको मिल सञ्चालक गोर्खामान श्रेष्ठले बताए । धरानकै विष्णुपादुका, धनकुटाको आहालेलगायत क्षेत्रका व्यापारीसँग मिलेमतो गरेर बेसारमा खुदी मिसाउने गरेको श्रेष्ठले स्विकार गरेका छन । मिलमा खुदी मिसाएर पिस्न तयार गरिएको १३ बोरा बेसार फेला परेको थियो भने बिक्री गर्न तयारी अवस्थामा राखिएको थप ४५ बोरा बेसार बरामद गरेको थियो।