आज कुशे औशी । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।